बारा, ११ माघ।
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस जितपुरले लाखौँ मूल्य बराबरका भन्सार छली गरिएका मोबाइलका विभिन्न पार्ट्स बरामद गरेको छ।
सशस्त्र प्रहरी बल गण नम्बर १२ बारा अन्तर्गतको सुरक्षा बेस जितपुरले चेकजाँचका क्रममा ८ लाख ५१ हजार रुपैयाँ बराबरका मोबाइल पार्ट्स एक बसबाट बरामद गरेको हो।
बेसका डिएसपी प्रकाशचन्द्र भट्टको नेतृत्वमा खटिएको टोलीले बिहीबार राति वीरगञ्जको बसपार्कबाट काठमाडौं जाँदै गरेको सगुन ट्राभल्सको बागमती प्रदेश ०३-००१ ख ३४९२ नम्बरको बसबाट लुकाइछिपाई राखिएका समानहरू फेला पारेको जनाएको छ।
बरामद सामानहरूमा ३ लाख ६० हजार रुपैयाँ बराबरको सिरिज टेन स्मार्ट वाच, ९० हजार रुपैयाँ बराबरको टेन वाच, १ लाख २० हजार रुपैयाँ बराबरको वाच सिरिज नाइन, र २ लाख १६ हजार रुपैयाँ बराबरको वनप्लस सुपर चार्जर लगायतका सामग्री रहेका छन्।
बरामद गरिएका सामानहरूलाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
