बिरगंज ,१३ माघ ।
७३औं अन्तर्राष्ट्रिय भन्सार दिवसमा सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजाल सम्मानित भएका छन् ।
पर्सा जिल्लाको वीरगंज भन्सार कार्यालयद्वारा आयोजित ७३औं अन्तर्राष्ट्रिय भन्सार दिवस कार्यक्रम माघ १३ गते सम्पन्न भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको प्रमुख आतिथ्यतामा तथा बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको विशिष्ट आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा वीरगंज भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेको पनि उपस्थिति थियो।

कार्यक्रमको अवसरमा सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजाललाई बिरगंज गुल्मका गुल्मपति रहि भन्सार प्रशासनमा देखाएको लगनशीलता, कर्तव्यनिष्ठा र अनुशासनको उच्च मूल्यांकन गर्दै प्रशंसा-पत्र प्रदान गरिएको छ।
७३औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा प्रदान गरिएको प्रशंसा-पत्रमा सुरज रिजालको समन्वयात्मक भूमिकाको प्रशंसा गर्दै भविष्यमा पनि योगदानको अपेक्षा व्यक्त गरिएको छ।
सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) रिजालले सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगञ्जमा मिति २०८० चैत ७ गतेदेखि २०८१ पुस ५ गतेसम्म गुल्मपतिको रूपमा सेवा गर्दै अवैध निकासी-पैठारी, लागुऔषध ओसारपसार, मानव तस्करी लगायत सीमापार अपराध नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्याएका थिए।
उनको नेतृत्व क्षमता, समन्वयात्मक भूमिका, र सीमाक्षेत्रमा तस्करी नियन्त्रणमा गरेको ऐतिहासिक योगदानलाई उच्च मुल्याङ्कन गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालद्वारा पनि Best Integrity Officer-Award प्रदान गरेका हुन्।
डिएसपी रिजालले ९ महिनाको कार्यकालमा करिब २४ करोड रुपैयाँ बराबरका अवैध मालसामान बरामद गरी तस्करी नियन्त्रणमा ऐतिहासिक उपलब्धि हासिल गरेका थिए। उनले तस्करीलाई लगभग ध्वस्त बनाउँदै सशस्त्र प्रहरी बलको कार्यक्षमताको उच्च उदाहरण प्रस्तुत गरेका थिए।
डिएसपी सुरज रिजाल अब धनुषा जिल्लामा कार्यरत छन् ।
