पर्सा, २ फागुन – वीरगञ्ज महानगरपालिकाका होटलहरूमा मानव बेचबिखन तथा वेश्यावृत्तिमा संलग्न गराइएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नं. १५ स्थित होटलहरूमा चेकजाँच गर्ने क्रममा राम्रो आम्दानी हुने प्रलोभनमा पारेर महिलाहरूलाई ग्राहकहरूसँग शारीरिक सम्पर्क राख्न बाध्य पारिएको अवस्थामा चार महिलाको उद्धार गरेको हो।
उद्धार गरिएका महिलाहरूमध्ये दुई जना होटल स्मार्टबाट र दुई जना न्यू शान्ति सैनिक होटलबाट फेला परेका थिए। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले निम्न दुई व्यक्तिलाई नियन्त्रणमा लिई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार थप अनुसन्धान गरिरहेको छ।
पक्राउ परेकाहरूको विवरण:
१. गिनीलाल गुप्ता (वर्ष ४५), वीरगञ्ज महानगरपालिका–१६, पर्सा।
२. जय प्रकाश साह (वर्ष ४०), ग्राम भवानीपुर, वडा नं. ६, थाना नकरदेही, पूर्वी चम्पारण, बिहार, भारत।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास भट्टका अनुसार मानव बेचबिखनविरुद्धको अभियानअन्तर्गत प्रहरीले होटलहरूमा निगरानी बढाइरहेको छ। प्रहरीले होटल तथा गेस्टहाउस व्यवसायीलाई कानुनी प्रावधानको पालना गर्न सचेत गराउँदै गैरकानुनी क्रियाकलापमा संलग्न भए कडा कारबाही गरिने चेतावनी दिएको छ।
