पर्सा, चैत २५ – सशस्त्र प्रहरी बल नेपाल, पर्सा मातहतको प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जको टोलीले विशेष सूचनाको आधारमा सुनचाँदीसहित तीन जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।
जिल्ला पर्सा, वीरगञ्ज महानगरपालिका–१६, वीरगञ्ज भन्सार कार्यालयको परिसर बाहिर त्रिभुवन राजपथ सडकखण्डमा चेकजाँचको क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ परेकाहरू भारत, पश्चिम बंगाल राज्यका रहेका छन्। उनीहरू नेपालका विभिन्न सुनचाँदी पसलबाट ग्राहकको अर्डरअनुसार सुनका गहना बनाउने नाममा सुन संकलन गरी फरार भएको सूचनाको आधारमा पक्राउ गरिएको सशस्त्र प्रहरी बल पर्साले जनाएको छ।
गुल्मबाट खटिएको प्रहरी टोलीले भारततर्फ जाँदै गरेका सवारी साधन र व्यक्तिहरूको निगरानी गर्ने क्रममा तीन जना भारतीय नागरिकलाई सुनका तयार गहना, सुनका टुक्रा तथा चाँदीको मूर्तीसहित फेला पारेको हो।
बरामद गरिएका सामग्रीको विवरण यस प्रकार छ:
- झुम्का – २ सेट (अन्दाजी ८२ लाल)
- रिङ्ग – १ सेट (अन्दाजी ३० लाल)
- सिक्री लकेट – १ थान (अन्दाजी ३० लाल)
- सुनको गणेश–लक्ष्मी अङ्गित लकेट – १ थान (अन्दाजी ४ लाल)
- सुनका टुक्राहरू – अन्दाजी १ तोला
जम्मा सुन – अन्दाजी २ तोला ६६ लाल
चाँदीको मूर्ती – लक्ष्मीको मूर्ती, अन्दाजी २ तोला
पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी चौकी ईनरुवामा बुझाइएको सशस्त्र प्रहरी बल पर्साले जानकारी दिएको छ।
