पर्सा, जेठ २९ । सशस्त्र प्रहरी बल, नेपाल प्र.सी. सु. गुल्म बीरगञ्जबाट डिएसपी लोकेन्द्र सुब्बाको कमान्डमा खटिएको टोलीले बीरगञ्ज महानगरपालिका–१६ स्थित नगवा गाउँको डम्पिङ साइट नजिकबाट भन्सार छली गरी भारतबाट ल्याउँदै गरेको करिब १३ लाख ४४ हजार २० रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएको छ।
सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी देबेन्द्र बहादुर सिंहका अनुसार उक्त टोलीले भारतबाट अवैध रूपमा पाँचवटा साइकलमा ल्याउँदै गरेको अवस्थामा रु. ७ लाख ६७ हजार ९ सय बराबरको कपडा र साइकल तथा चोरी–पैठारी कार्यमा प्रयोग गरिएको ना १६ प ६२७५ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको थियो। उक्त मोटरसाइकलको भन्सार मूल्याङ्कन रु. १ लाख ५० हजार गरिएको छ।
त्यस्तै, आजकै मितिमा सोही गुल्मले बीरगञ्ज महानगरपालिका–१६ का विभिन्न सीमा नाकाबाट भन्सार छली गरी लुकाईछिपाई सवारी साधनमा लोड गरिएका रु. ४ लाख २६ हजार १२० बराबरका इलेक्ट्रोनिक तथा अन्य सामग्रीहरू समेत नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि बीरगञ्ज भन्सार कार्यालयमा बुझाएको जानकारी दिइएको छ।
