पोखरिया प्रहरी निरीक्षक पौडेलको नेतृत्वमा ब्राउन सुगरसहित युवक पक्राउ, पर्सा प्रहरीको लागुऔषध नियन्त्रण अभियान तीव्र

समाचार

वीरगञ्ज, ११ जेठ ।
जिल्ला प्रहरी कार्यालय पर्साले लागुऔषध नियन्त्रण अभियानलाई अझ सशक्त बनाउँदै पोखरिया नगरपालिकाबाट ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदिप राज पाठकको नेतृत्वमा सञ्चालन भइरहेको विशेष अभियानअन्तर्गत उक्त सफलता हासिल भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मिति २०८३ जेठ १० गते राति करिब ११:३० बजेको समयमा जिल्ला पर्सा पोखरिया नगरपालिका–९ स्थित एक टहरामा लागू औषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पोखरियाबाट प्रहरी निरीक्षक प्रदीप पौडेलको कमाण्डमा प्रहरी टोली परिचालन गरिएको थियो।

विशेष सूचनापछि खटिएको प्रहरी टोलीले उक्त स्थानमा पुगेपछि शंकास्पद गतिविधि गरिरहेका एक युवकलाई नियन्त्रणमा लिई खानतलासी गर्दा उनको साथबाट ५ दशमलव ५ ग्राम ब्राउन सुगर जस्तो देखिने लागू औषध फेला परेको प्रहरीले जनाएको छ। बरामद गरिएको पदार्थलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।

पक्राउ पर्नेमा पर्साको पोखरिया नगरपालिका–९ निवासी बिजुली राउत कम्करका छोरा अन्दाजी २० वर्षीय विशाल राउत कम्कर रहेका छन्। उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय पोखरियामा राखेर थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ।

पर्सा प्रहरीले पछिल्लो समय जिल्लाभर लागू औषध कारोबार, सेवन तथा ओसारपसार नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गर्दै आएको छ। विशेषगरी सीमावर्ती क्षेत्र तथा शहरी क्षेत्रमा निगरानी बढाइएको प्रहरी स्रोतले जनाएको छ। प्रहरीले युवापुस्तालाई लागुऔषध दुर्व्यसनबाट जोगाउन विद्यालय, समुदाय तथा स्थानीय तहसँग सहकार्य गर्दै सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिरहेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकले अपराध नियन्त्रण र समाजलाई सुरक्षित बनाउने अभियानमा प्रहरी दृढतापूर्वक लागिरहेको बताउँदै लागुऔषध विरुद्धको अभियान अझ कडाइका साथ अगाडि बढाइने संकेत दिएका छन्। उनले लागुऔषध कारोबार तथा सेवन सम्बन्धी सूचना भए नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन सर्वसाधारणसँग आग्रह समेत गरेका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *