मधेश प्रदेशमै उत्कृष्ट कार्यसम्पादन गर्दै जिल्ला प्रहरी कार्यालय पर्सा सम्मानित

समाचार

वीरगञ्ज, जेठ १०। मधेश प्रदेशअन्तर्गत रहेका जिल्ला प्रहरी कार्यालयहरूमध्ये उत्कृष्ट कार्यसम्पादन गर्दै जिल्ला प्रहरी कार्यालय पर्सा “सर्वोत्कृष्ट” प्रशंसापत्रद्वारा सम्मानित भएको छ।

आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट नतिजा हासिल गरेपछि मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायब महानिरीक्षक गोविन्द थपलियाले जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकलाई प्रशंसापत्रसहित सम्मान गर्नुभएको हो।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरद्वारा गरिएको मूल्याङ्कनअनुसार जिल्ला प्रहरी कार्यालय पर्साले अपराध नियन्त्रण, अनुसन्धान, फरार प्रतिवादी पक्राउ, लागूऔषध नियन्त्रण, समुदाय–प्रहरी साझेदारी, शान्ति सुरक्षा व्यवस्थापन तथा नागरिकमैत्री सेवा प्रवाहलगायतका क्षेत्रमा उल्लेखनीय कार्यसम्पादन गरेको जनाइएको छ।


प्रहरी नायब महानिरीक्षक थपलियाद्वारा प्रदान गरिएको प्रशंसापत्रमा मधेश प्रदेश प्रहरी प्रमुख र जिल्ला प्रहरी कार्यालय प्रमुखबीच आर्थिक वर्ष २०८२/०८३ का लागि गरिएको वार्षिक कार्यसम्पादन सम्झौताअनुसार वैशाख महिनासम्मको प्रगति मूल्याङ्कन गर्दा पर्सा जिल्ला प्रहरी कार्यालय सबैभन्दा उत्कृष्ट रहेको उल्लेख गरिएको छ।
प्रशंसापत्रमा भनिएको छ, “मधेश प्रदेशअन्तर्गत रहेका जिल्ला प्रहरी कार्यालयहरूमध्ये जिल्ला प्रहरी कार्यालय पर्साको कार्यसम्पादन सर्वोत्कृष्ट रहेकोले जिल्ला प्रहरी प्रमुखको रूपमा तपाईँलाई उच्च मूल्याङ्कन गर्दै यो प्रशंसापत्र प्रदान गरिएको छ। साथै, तपाईँको उज्ज्वल भविष्यको कामना गर्दछु।”

प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा पछिल्लो समय पर्सा प्रहरीले अपराध नियन्त्रण तथा अनुसन्धानमा सक्रियता बढाएको छ। विशेषगरी लागूऔषध नियन्त्रण अभियान, फरार अभियुक्त पक्राउ अभियान, बालश्रम तथा मानव बेचबिखनविरुद्धको अभियान, अवैध कारोबार नियन्त्रण तथा सामुदायिक प्रहरी कार्यक्रममार्फत पर्सा प्रहरीले उल्लेखनीय उपलब्धि हासिल गरेको बताइएको छ।

हालैका महिनाहरूमा पर्सा प्रहरीले विभिन्न आपराधिक घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्नुका साथै बालिका उद्धार, अवैध लागूऔषध बरामद, चोरी तथा तस्करी नियन्त्रणजस्ता क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्दै आएको छ। यसले जिल्लाको शान्ति सुरक्षा व्यवस्थापनमा सकारात्मक प्रभाव परेको स्थानीयवासीको भनाइ छ।

सम्मानपछि प्रतिक्रिया दिँदै प्रहरी उपरीक्षक पाठकले उक्त उपलब्धि सम्पूर्ण पर्सा प्रहरी परिवारको सामूहिक मेहनत, अनुशासन र नागरिकको सहयोगको परिणाम भएको बताउनुभयो। उहाँले आगामी दिनमा पनि नागरिकको विश्वास कायम राख्दै शान्ति सुरक्षा सुदृढ बनाउन अझ प्रभावकारी ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
जिल्ला प्रहरी कार्यालय पर्साले प्राप्त गरेको यो सम्मानले मधेश प्रदेशमा प्रहरी संगठनभित्र पर्सा प्रहरीको कार्यदक्षता र प्रभावकारी नेतृत्वलाई थप स्थापित गरेको प्रहरी वृत्तमा चर्चा गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *