बिरगंज -१६ रजतजयन्ती चोकबाट ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एकजना  पक्राउ

समाचार

वीरगञ्ज, भदौ २६ । वीरगञ्जबाट अवैध रूपमा ठूलो परिमाणमा भारतीय रुपैयाँ बोकेर आउँदै गरेको अवस्थामा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ स्थित रजतजयन्ती चोकबाट स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित भारत बिहार मोतिहारीका ५५ वर्षीय अशोक कुमारलाई पक्राउ गरेको हो।

प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरी टोलीले भदौ २६ गते साँझ करिब ४ः३० बजे नियमित चेकजाँचका क्रममा भारतबाट वीरगञ्जतर्फ आउँदै गरेको BR06AT 6445 नम्बरको मोटरसाइकल रोकी जाँच गरेको थियो।

जाँचका क्रममा मोटरसाइकलको डिक्कीमा लुकाइछिपाइ राखिएको अवस्थामा विभिन्न दरका भारतीय नोट फेला परेको प्रहरीले जनाएको छ। बरामद रकममा ५ सय दरका ८९१ थान, २ सय दरका १ थान र १ सय दरका ४३ थान गरी जम्मा भारतीय रुपैयाँ ४ लाख ५० हजार रहेको छ।

रकमसहित मोटरसाइकल र चालक अशोक कुमारलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

घटनाबारे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका हुन्।

प्रहरीले बरामद रकमको स्रोत तथा ओसारपसारको उद्देश्यबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *