वीरगंज, जेठ २८ ।वीरगंज महानगरपालिकाले पछिल्लो समय बढ्दो गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा पर्न सक्ने नकारात्मक प्रभावलाई ध्यानमा राख्दै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा दुई दिनको गर्मी विदा दिने निर्णय गरेको छ। यसबारे महानगरपालिकाले आज सूचना प्रकाशित गर्दै सबै विद्यालय, विद्यार्थी तथा अभिभावकहरूलाई जानकारी गराएको छ।
महानगरपालिकाका अनुसार २०८२ जेठ २९ र ३० गते दुई दिनका लागि विद्यालयहरूमा गर्मी विदा लागू हुनेछ। यस अवधिमा विदा वर्षे विदाबाट कट्टा हुने व्यवस्था गरिएको छ। यद्यपि, विदाको समयमा समेत विद्यालय प्रशासन कार्यालय खुला राख्न महानगरपालिकाले सम्बन्धित सबै विद्यालयहरूलाई निर्देशन दिएको छ।
महानगरपालिकाले अत्यधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने भन्दै सतर्कता अपनाउन सबै पक्षलाई आग्रह गरेको छ।
