ट्राफिक जनचेतनामूलक सप्ताह समापन: वीरगञ्जमा सडक सुरक्षा र अनुशासन प्रवर्द्धनमा महत्वपूर्ण योगदान

समाचार

वीरगञ्ज, २८ जेठ । सडक अनुशासन पालना तथा सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साद्वारा आयोजित “ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रम” २०८२ को समापन आज भव्य समारोहका बीच सम्पन्न भएको छ।

सप्ताहव्यापी कार्यक्रमको समापन वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहको प्रमुख आतिथ्यमा सम्पन्न भयो। कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका उप–प्रमुख ईम्तियाज आलम, श्री जंगका प्रमुख निराजन कटुवाल, निमित्त प्रमुख जिल्ला अधिकारी सुमन कार्की, नेपाल पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा, उद्योग वाणिज्य संघ वीरगञ्जका अध्यक्ष हरी गौतम, प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरी, शस्त्र प्रहरी बल १३ नं गणका प्रमुख एसपी राधेश्याम धिमाल, ग्रीनसिटी सामुदायिक प्रहरी आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान, नेपाल इनोभेटिभ सोसाइटीका अध्यक्ष कमल चौगाई, महानगरपालिकाका प्रशासकीय अधिकृत अर्बिन्दलाल कर्ण, वडा अध्यक्ष जवाहर गुप्ता, डीएसपी किशोर लम्साल, शिक्षा महाशाखा प्रमुख आनन्द लामिछाने र वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी प्रमुख निरोज चौलागाईं लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले आफ्नो मन्तव्यमा भने, “सडकमा दिनहुँ हुने दुर्घटनाहरूलाई न्यूनीकरण गर्न ट्राफिक सप्ताहले जनचेतना अभिवृद्धिमा पुर्‍याएको योगदान अत्यन्तै सराहनीय छ। आगामी दिनमा पनि यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्दछु।”

त्यसैगरी, उप–प्रमुख ईम्तियाज आलमले ट्राफिक प्रहरीले सडक सुरक्षा र जनचेतनामा देखाएको सक्रिय प्रयासको प्रशंसा गर्दै यस्ता कार्यक्रमलाई नियमितरूपमा सञ्चालन गर्न जोड दिनुभयो।

सप्ताहव्यापी कार्यक्रमको अध्यक्षता जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्रले गर्नुभएको थियो भने स्वागत मन्तव्य जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक लोकराज भट्टले दिनुभएको थियो। कार्यक्रम सञ्चालन वरिष्ठ सई गुणनिधि खकुरेलले गर्नुभएको थियो।

ट्राफिक सप्ताहभरि ट्राफिक नियमसम्बन्धी सचेतना र्‍याली, विद्यालयस्तरीय अन्तरक्रिया, पर्चा तथा पोस्टर वितरण, मोटरसाइकल चालकलाई हेल्मेट वितरण, सवारी साधन चेकजाँचजस्ता विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएका थिए। वीरगञ्जका विभिन्न विद्यालयका विद्यार्थी तथा शिक्षकहरूको उल्लेखनीय सहभागिता र सञ्चारकर्मीहरूको सक्रिय उपस्थितिले कार्यक्रमलाई थप प्रभावकारी बनाएको थियो।

सुरक्षित यात्रा सुनिश्चित गर्नका लागि जनचेतना आवश्यक रहेको सन्देशसहित सम्पन्न भएको यस ट्राफिक सप्ताहले वीरगञ्ज लगायत पर्सा जिल्लामा सडक सुरक्षा र अनुशासन प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुर्‍याउने विश्वास गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *