श्रीपुर प्रहरी निरीक्षक बस्नेतको नेतृत्वमा करोडौंको मालसामान, सयौं फरार प्रतिवादी तथा लागू औषधसहितको उल्लेखनीय सफलता

समाचार

रसीद आलम

पर्सा, ८ साउन।
जिल्ला प्रहरी कार्यालय पर्सा मातहतको वडा प्रहरी कार्यालय श्रीपुरले प्रहरी निरीक्षक श्याम कुमार बस्नेतको कमान्डमा विगत १० महिनाको अवधिमा आपराधिक गतिविधिहरू विरुद्ध उल्लेखनीय सफलता हासिल गरेको छ। लागू औषध नियन्त्रणदेखि भन्सार छली रोकथाम, फरार प्रतिवादी पक्राउ, काठ तथा बालुवा तस्करी नियन्त्रणसम्मको अभियानले प्रहरीको कार्यसम्पादनप्रति जनविश्वास बलियो बनाएको छ।

करोडौंको अबैध मालसामान तथा सवारीसाधन बरामद

प्रहरी निरीक्षक बस्नेतको नेतृत्वमा श्रीपुर प्रहरीले भारतबाट नेपालतर्फ अबैध रुपमा भन्सार छली गरी ल्याइएका करिब रु. २९,४१,३३५ बराबरको विभिन्न किसिमका उपभोग्य तथा अन्य सामग्रीहरू र ४ वटा मोटरसाइकलहरू नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ।

त्यसैगरी, भारतको ड्राइपोर्ट हुँदै नेपाल भित्रिएका तथा बिल/बिजकमा उल्लेखभन्दा बढी मात्रामा माल लोड गरी ल्याइएका रु. १,०७,४०,००० बराबरको मालसामान सहितका सवारी साधनहरू राजस्व अनुसन्धान कार्यालय, पथलैयामा आवश्यक अनुसन्धानका लागि बुझाइएको हो।

लागू औषध नियन्त्रणमा निर्णायक प्रहार

लागू औषध तस्करी तथा सेवन नियन्त्रणलाई प्राथमिकता दिँदै प्रहरी निरीक्षक बस्नेतको टोलीले विभिन्न मितिमा निम्न परिमाणका लागूपदार्थहरू बरामद गरेको छ:

  • नाईट्राभेट ट्याब्लेट – ५९७ पिस
  • ओनरेक्स सिरप – १०० बोतल
  • फेनार्गन, नूर्फिन र डाइजेपाम इन्जेक्सन – ८,२०० पिस
  • ट्रामाडोल क्याप्सुल – ५,९९० पिस
  • खैरो हेरोइन – २४.६२ ग्राम
  • गाँजा – ३४ किलो ७०० ग्राम
  • चरेश – ३४ किलो १०० ग्राम

उक्त कार्यमा संलग्न २४ जना पुरुष र १ जना महिला गरी जम्मा २५ जनालाई पक्राउ गरि कानुनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको छ।

फरार प्रतिवादी नियन्त्रणमा ऐतिहासिक सफलता

वडा प्रहरी कार्यालय श्रीपुरले २७३ जना अदालतबाट फैसला भइसकेका फरार प्रतिवादीहरूलाई अदालतमा पेश गरेको छ। त्यस्तै, चालु तथा पेनडिङ मुद्दामा संलग्न २४ जना पुरुष र २ जना महिला गरी २६ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा दाखिला गरिएको छ।

वनतस्करी र काठ तस्करीमाथि पनि निगरानी

बिभिन्न मितिमा पिठुवा जातको काठ २५० क्यु. फिट, तयारी काठबाट बनेका ढोकाका चौकस ८ पिस र झ्यालका चौकस ४० पिस, साथै तिनीहरू लोड गरिएका सवारीसाधनहरू नियन्त्रणमा लिई श्री वन डिभिजन कार्यालय पर्सामा बुझाइएको प्रहरी स्रोतले जनाएको छ।

अवैध बालुवा उत्खननमा पनि कारबाही

विभिन्न मितिमा अवैध रूपमा बालुवा उत्खनन गरी ट्याक्टरमार्फत ओसारपसार गरिरहेको अवस्थामा ९ वटा ट्याक्टर नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि वीरगञ्ज महानगरपालिकामा बुझाइएको हो।

कालोबजारी नियन्त्रणमा पनि कठोरता

खसीको मासु भन्दै उपभोक्तालाई झुक्याई बाख्राको मासु विक्री गरिरहेको अवस्थामा २ जना मासु पसल संचालकहरूलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ।

प्रहरी निरीक्षक श्याम कुमार बस्नेतको कुशल नेतृत्वमा वडा प्रहरी कार्यालय श्रीपुरले विगत १० महिनामा आपराधिक गतिविधिहरू विरुद्धमा अभूतपूर्व सफलता हासिल गरेको छ। फरार प्रतिवादी नियन्त्रण, लागूपदार्थ नियन्त्रण, भन्सार छली रोकथाम, कालोबजारी नियन्त्रण तथा प्राकृतिक स्रोत संरक्षणमा गरिएको अभियानप्रति समुदायस्तरबाट पनि प्रशंसा व्यक्त गरिएको छ।

शान्ति सुरक्षाको सुनिश्चितताका लागि श्रीपुर प्रहरीको यो अभियान एक उत्कृष्ट उदाहरण बन्न पुगेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *