सुवर्ण गाउँपालिका अध्यक्षको अभिव्यक्तिप्रति पत्रकार महासंघ बाराको आपत्ति

समाचार

बारा ८ साउन । बारा स्थित सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश यादवले पत्रकारितालाई लक्षित गर्दै दिएको विवादास्पद अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघ, बारा शाखाले गम्भीर आपत्ति जनाएको छ।

हिजो मंगलवार एक युवकले चलाएको मोटरसाईकलले ठोकेर मेयर यादवको स्कार्पियो पञ्चर हुँदा उनले गरेको गालीगलौज संगै गरेको दुर्व्यवहार बारे  केही पत्रकारले समाचार बनाएका थिए।

सोही बिषय लिएर पत्रकारलाई लक्षित गर्दै अध्यक्ष यादवले दिएको सार्वजनिक अभिव्यक्तिले सम्पूर्ण पत्रकारिता क्षेत्रको अपमान गरेको महासंघको ठहर छ।

 

अध्यक्ष यादवले सञ्चारकर्मीप्रति देखाएको व्यवहारले लोकतान्त्रिक मूल्य र अभिव्यक्ति स्वतन्त्रताको अपमान गरेको भन्दै महासंघले खेद व्यक्त गरेको छ। प्रेस विज्ञप्तिमा भनिएको छ, “समाचारप्रति असन्तुष्टि भए कानुनी बाटो रोज्न सकिन्छ, तर सार्वजनिक रूपमा पत्रकार र पत्रकारितामाथि आक्षेप लगाउनु निन्दनीय र आपत्तिजनक छ।” महासंघका अनुसार, अध्यक्षको अभिव्यक्तिले सञ्चारकर्मीको मनोबल गिराउने मात्र नभई निष्पक्ष र स्वतन्त्र समाचार संप्रेषणमा पनि अवरोध सिर्जना गर्छ।

महासंघले अध्यक्ष यादवलाई अभिव्यक्ति फिर्ता लिन र सार्वजनिक रूपमा माफी माग्न आग्रह गर्दै आगामी दिनमा यस्ता गतिविधि दोहोरिए त्यसको प्रतिवादमा उत्रिने चेतावनी समेत दिएको छ।

सञ्चार माध्यममा आएका समाचारलाई अर्को संचार माध्यमबाट खण्डन गर्ने प्रवृत्तिप्रति पनि महासंघले चिन्ता व्यक्त गर्दै यस्तो कार्यले संचार माध्यमबीचको आपसी विश्वासमा क्षति पुग्ने उल्लेख गरेको छ। अध्यक्ष यादवले प्रमाणसहित खण्डन गर्नु पर्ने माग पनि महासंघले राखेको छ।

नेपाल पत्रकार महासंघ, बारा शाखाका अध्यक्ष रमेश सुवेदीद्वारा जारी प्रेस विज्ञप्तिमा सबै संचारकर्मी तथा संचार माध्यमलाई संयमित र जिम्मेवार भूमिका निर्वाह गर्न समेत आग्रह गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *