पर्सा,२६ कार्तिक।
पर्सा जिल्लाका नव नियुक्त प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालको निर्देशनमा जिल्ला प्रशासन कार्यालयका टोलिले जिल्लाका विभिन्न सरकारी कार्यालयहरूको अनुगमन गरेका छन्। जिल्ला प्रशासन कार्यालय पर्साको टोलीले गरेको अनुगमनका क्रममा भूमी सुधार तथा मालपोत कार्यालयमा ५१ दरबन्दीका लागि ५६ जना कर्मचारी नियुक्त भए पनि ३ जना अनुपस्थित र २१ जना ढिलो गरी कार्यालय पुगेको पाइएको छ। ढिलो आउने कर्मचारीहरूलाई कार्यालय प्रमुख र निरीक्षण टोलीले अब उप्रान्त ढिला गरे कारबाही गर्ने मौखिक निर्देशन दिएको छ।
यस्तै, सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालयमा ८ जना अनुपस्थित र १ जना हाजिरी नगरेको पाइएको छ। यातायात व्यवस्था कार्यालयमा कार्यालय प्रमुखसहित ११ जना अनुपस्थित भेटिए भने नेपाल विद्युत प्राधिकरण कार्यालयमा इ-हाजिरी लागू भए पनि विवरण उपलब्ध हुन सकेको छैन। स्वास्थ्य कार्यालय र डिभिजन वन कार्यालयमा पनि अनुपस्थित र विदामा रहेका कर्मचारीहरूको संख्या उल्लेखनीय देखिएको छ।
सिडिओ अर्यालले ढिलो आउने र अनुपस्थित कर्मचारीहरूको व्यवस्थापनका लागि साइट/फिल्डमा गएका कर्मचारीहरूको लगबुक अद्यावधिक गर्न निर्देशन दिएका छन्। प्रदेश कार्यालयअन्तर्गतको मामिलामा मन्त्रालयलाई कारबाहीको लागि सिफारिस गरिने तथा अन्य कार्यालयमा स्पष्टीकरण माग गरिने जनाइएको छ।
