डिएसपी भण्डारीको सशक्त कमाण्ड: ३ दिनमै साढे ६ लाखको तस्करी नियन्त्रण, भन्सारमा बुझाइयो अवैध सामान

समाचार

बिरगंज, ८ साउन ।
सशस्त्र प्रहरी बल पर्सा अन्तर्गत प्रस्तावित सीमा सुरक्षा गुल्म, बिरगंजका नव नियुक्त सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) पुरुषोत्तम भण्डारीले पदभार ग्रहण गरेको तीन दिनमै तस्करी नियन्त्रणमा उल्लेखनीय सफलता हात पारेका छन्। गुल्मको कमाण्ड साउन ५ गते सम्हालेका डिएसपी भण्डारीको नेतृत्वमा खटिएको टोलीले साढे ६ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको भन्सार छलिका सामान नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएको छ।

सशस्त्र प्रहरीका अनुसार, साउन ८ गते दिउँसो ३:२५ बजे बिरगंज महानगरपालिका–१६ अन्तर्गत विभिन्न सीमा नाकाहरू हुँदै भारतबाट नेपालतर्फ भन्सार छलि ल्याइँदै गरेका किराना, कपडा तथा हार्डवेयर सामग्री लोड गरिएका सवारी साधनलाई डिएसपी भण्डारीको कमाण्डमा खटिएको ९ सदस्यीय मोबाइल गस्ती टोलीले नियन्त्रणमा लिएको हो। सवारी साधनले भाग्न खोजे पनि सामान फालेर तस्करहरू फरार भएका थिए। नियन्त्रणमा लिइएको ती सामानहरूको अनुमानित भन्सार मूल्य ४ लाख ३६ हजार ८९० रुपैयाँ रहेको सशस्त्र प्रहरी बल पर्साले जनाएको छ।

त्यसैगरी, साउन ७ गते पनि डिएसपी भण्डारीकै नेतृत्वमा खटिएको टोलीले २ लाख १८ हजार ४७५ रुपैयाँ बराबरका किराना तथा हार्डवेयर सामग्री बरामद गरी भन्सार कार्यालयमा बुझाएको थियो। यसरी जम्मा ६ लाख ५५ हजार ३६५ रुपैयाँ बराबरका अवैध सामानहरू नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलको भनाइ छ।

डिएसपी भण्डारीले सीमावर्ती क्षेत्रको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै तस्करीमाथि शून्य सहनशीलता नीतिअनुसार कडा निगरानी थालेका छन्। “तस्करी नियन्त्रणमा कुनै सम्झौता हुने छैन,” उनले स्पष्ट शब्दमा भनेका छन्, “बिरगंज जस्तो चुनौतीपूर्ण सीमाक्षेत्रमा कानुनी दायरा भित्र रहेर कर्तव्य निर्वाह गर्ने छु।”

बिरगंजको मुख्य नाका भएर दैनिकजसो हुने तस्करी गतिविधि नियन्त्रण गर्नु आफैँमा कठिन कार्य भए पनि डिएसपी भण्डारीले सशक्त नेतृत्व प्रदर्शन गर्दै सुरक्षामा जनताको विश्वास बढाउन सक्रिय देखिएका छन्। कुनै पनि राजनीतिक वा व्यक्तिगत दबाबमा नपरी कडाइका साथ कार्यान्वयन अघि बढाउने उनको प्रतिबद्धता सुरुवाती दिनमै देखिन थालेको हो।

स्थानीय बासिन्दा, व्यवसायी र सुरक्षाका जानकारहरूका अनुसार, तस्करी नियन्त्रणका लागि यस्ता पहलहरू दीर्घकालीन रूपमा निरन्तर चल्न सकेमा सीमावर्ती क्षेत्रको शान्ति, सुरक्षा र राजस्व संकलनमा ठूलो सुधार आउन सक्नेछ।

डिएसपी भण्डारीको यो कदमले सीमा सुरक्षा बलको विश्वासिलो कार्यशैलीलाई अझ मजबुत बनाएको छ। तस्करी नियन्त्रणमा देखिएको प्रारम्भिक सफलता आगामी दिनमा अझ प्रभावकारी बन्ने आशा गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *