लागु औषध अफिम सहित पर्साबाट चार जना पक्राउ, अनुसन्धान जारी

समाचार

रसीद आलम

पर्सा, असार ४ ।
पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१६ स्थित रजतजयन्ती चोकमा लागुऔषध अफिम जस्तो देखिने पदार्थसहित चार जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। पर्सा प्रहरी कार्यालयका अनुसार उनीहरूलाई नियमित जाँचका क्रममा शंका लागेर पक्राउ गरिएको हो।

असार ३ गते दिउँसो अन्दाजी १:३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय पर्साको मातहत वडा प्रहरी कार्यालय विर्ता र लागुऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले रजतजयन्ती चोकमा नियमित जाँचको क्रममा दुईवटा मोटरसाइकल रोकेको थियो।
ना.४६ प २५४० र ना.४० प ६४६९ नम्बरका ती मोटरसाइकलहरूमा सवार रहेका व्यक्तिहरूको गतिविधि शंकास्पद देखिएपछि थप जाँच गर्दा लागुऔषध अफिम जस्तो देखिने पदार्थ फेला परेको पर्सा प्रहरी प्रवक्ता डिएसपी किशोर लम्सालले जानकारी दिए।

पक्राउ परेका मध्ये एक व्यक्तिले मोटरसाइकलको बीच भागमा हातले समाई राखेको बोरा शंकास्पद देखिएपछि खानतलासी गरिएको थियो। उक्त बोराभित्र प्लास्टिकको झोलामा राखी खरानी रङको टेपले बेरिएको अवस्थामा लुकाइछिपाई राखिएको करिब १ के.जी. तौलको अफिम जस्तो देखिने लागुऔषध पदार्थ फेला परेको हो।

प्रहरीका अनुसार बरामद लागुऔषधसहित दुवै मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ। पक्राउ परेकाहरूलाई पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप लिइ अनुसन्धान अगाडि बढाइएको डिएसपी लम्सालले बताए।

पक्राउ पर्ने व्यक्तिहरूको विवरण यस प्रकार छः
१) बिनोद गिरी, उमेर ४०, वासिन्दा– पर्सा, पटेर्वासुगौली गाउँपालिका वडा नं. १
२) प्रदीप चौधरी, उमेर ३३, वासिन्दा– पर्सा, पटेर्वासुगौली गाउँपालिका वडा नं. ५
३) सुनिल कुमार श्रीवास्तव, उमेर २८, वासिन्दा– पर्सा, पटेर्वासुगौली गाउँपालिका वडा नं. ५
४) रामेश्वर राउत, उमेर ३४, वासिन्दा– पर्सा, पटेर्वासुगौली गाउँपालिका वडा नं. ५

बरामद सामग्रीहरूः

  • अफिम जस्तो देखिने लागुऔषध पदार्थ १ के.जी. (प्लास्टिक बाहेक)
  • मोटरसाइकल नं. ना.४६ प २५४०
  • मोटरसाइकल नं. ना.४० प ६४६९

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्रले जानकारी दिएका छन्।
पर्सा प्रहरीको सक्रियता र सतर्कताका कारण लागुऔषध ओसारपसारमा संलग्न समूहको गतिविधिमा केही हदसम्म रोक लागेको संकेत प्रहरीको यो पछिल्लो सफलता देखिन्छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *