बारा, असार ४ ।
जिल्ला बारा, कलैया उपमहानगरपालिका वडा नं. १४ बघवन टोल निवासी ५० वर्षीय नन्दु राउत कुर्मीको कुटपिट गरी हत्या गरिएको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले मुख्य आरोपीसहित चार जनालाई पक्राउ गरेको छ।
मिति २०८२ साल जेठ २९ गते साँझ करिब ६:१५ बजे पुरानो रिसिवीका कारण ४० वर्षीय उमेश जैसवालसहित ६ जनाको समूहले नन्दु राउत कुर्मीमाथि कुटपिट गरेका थिए। गम्भीर घाइते अवस्थामा उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएकोमा उपचारको क्रममा साँझ ७:२० बजे डाक्टरले उनलाई मृत घोषणा गरेका थिए।
घटनाबारे जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले प्रारम्भिक अनुसन्धानपछि सोही दिन २८ वर्षीय दिगम्बर साह कलवारलाई पक्राउ गरेको थियो। घटनासँग सम्बन्धित ‘ज्यानसम्बन्धी कसूर’ मुद्दामा जिल्ला अदालत बाराबाट ७ दिनको म्याद लिइ अनुसन्धान अगाडि बढाइएको प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए।
यही असार ४ गते प्रहरीले फरार तीन अभियुक्तहरूलाई लुकिछिपि बसिरहेको अवस्थामा पक्राउ गरेको छ। कलैया उपमहानगरपालिका वडा नं. ५ मा सागर लामिछानेको घरमा लुकिएकी रन्जु जैसवाल (३८), र वीरगञ्ज महानगरपालिका वडा नं. १ शान्ति टोलस्थित बसिर मियाँको घरमा लुकेका उनका दुई छोराहरू — २० वर्षीय सुमित जैसवाल र १८ वर्षीय सुजित कुमार जैसवाल — लाई पक्राउ गरिएको हो।
हाल घटनासँग सम्बन्धित थप अनुसन्धान जारी रहेको र अन्य फरार अभियुक्तहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
