वीरगञ्ज, ११ असार । जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा मिति २०८२ साल असार १० गते बिहान ९ बजे वीरगञ्ज महानगरपालिका वडा नं. १३ स्थित गौतम माध्यमिक विद्यालयमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत “साइबर अपराध सम्बन्धी जनचेतनामूलक प्रशिक्षण कार्यक्रम” सम्पन्न भएको छ ।
पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा सो विद्यालयका शिक्षक, शिक्षिका तथा विद्यार्थी गरी करिब ४०० जनाको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक मिश्रले सामाजिक सञ्जाल तथा इन्टरनेटको बढ्दो प्रयोगसँगै साइबर अपराधका घटना बढ्दै गइरहेको हुँदा सबैलाई सचेत रहन आग्रह गरे ।
कार्यक्रममा साइबर अपराधका विविध पक्ष, अपराधीहरूले अपनाउने नयाँ प्रवृत्ति तथा त्यसबाट बच्ने उपायहरूबारे सहभागीलाई जानकारी दिइएको थियो । सहभागी विद्यार्थी तथा शिक्षकहरुले पनि साइबर अपराधसँग सम्बन्धित जिज्ञासा राख्दै सुरक्षाका उपायबारे जानकारी लिन पाएकोमा खुशी व्यक्त गरे ।
अन्त्यमा विद्यालयका प्रतिनिधिले प्रहरी कार्यालय पर्सालाई धन्यवाद ज्ञापन गर्दै यस्ता प्रशिक्षण कार्यक्रमले समुदायलाई साइबर अपराधबाट बच्न सशक्त बनाउने विश्वास व्यक्त गरे । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आगामी दिनहरूमा पनि विभिन्न विद्यालय तथा सामाजिक संस्थासँग सहकार्य गरी जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने छ ।
