बारा, असार २४।
आपको क्यारेटमा लुकाई राखेको अवस्थामा माटिअर्वा जाने बाटोबाट ४५०० पिस प्रतिबन्धित लागुऔषध एम्पुल सहित एक युवकलाई बारा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
विशेष सूचनाका आधारमा प्रहरीले बारा जिल्लाको कलैया उपमहानगरपालिका–५ भरत चौक नजिक माटिअर्वा जाने बाटोको छेउबाट ४ हजार ५ सय थान प्रतिबन्धित लागुऔषध एम्पुल सहित एक युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी सहायक निरीक्षक नन्दकिशोर सिंहको कमाण्डमा खटिएको टोलीले असार २३ गते साँझ करिब ७:१० बजे सो युवकलाई पक्राउ गरेको हो। प्रहरीले भरत चौकस्थित सडक किनारमा दुईवटा कार्टुन (क्यारेट) राखी उभिएको अवस्थामा युवकलाई शङ्कास्पद देखेपछि नियन्त्रणमा लिएको थियो।
प्रहरीको उपस्थिती देखेपछि ती युवक भाग्न खोजे पनि तत्कालै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिएर जाँच गर्दा उक्त कार्टुनभित्र नोफिन, फेनारगन र डाईजोपाम नामक लागुऔषध एम्पुलहरू फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी विजयराज पण्डितका अनुसार, पक्राउ परेका व्यक्तिको नाम जीतपुर सिमरा उपमहानगरपालिका–७ बस्ने २० वर्षीय सेराज अन्सारी रहेको छ। बरामद लागुऔषधको विवरण यसप्रकार छ:
- नोफिन – १५०० पिस
- फेनारगन – १५०० पिस
- डाईजोपाम – १५०० पिस
जम्मा – ४५०० पिस (१५ पोका)
यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
