रसुवा, असार २४ ।आज बिहान रसुवाको भोटेकोसी नदीमा एक्कासी आएको भीषण बाढीले ठूलो धनजनको क्षति पुर्याएको छ। बाढीले नेपाल–चीन सीमा जोड्ने ऐतिहासिक मितेरी पुल पूर्णरूपमा बगाएको छ भने रसुवागढी भन्सार क्षेत्र टिमुरेमा व्यापक क्षति पुगेको छ।
रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार बाढीका कारण टिमुरेस्थित ड्राइपोर्टमा पार्क गरिएका सयौं इलेक्ट्रिक गाडी (EV) बगाएको छ। भन्सार कार्यालयको सेडघरमा रहेका कन्टेनरहरू, चिनियाँ सामानहरू, तथा अन्य भौतिक संरचनामा समेत क्षति पुगेको छ।
बाढीका कारण स्याफ्रुबेसी–रसुवा सडकखण्ड अवरुद्ध भएको छ। सुरक्षाका दृष्टिले त्रिशूली नदी किनार आसपासका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न प्रशासनले आग्रह गरेको छ।
डीएसपी हेम बहादुर शाहीका अनुसार उद्धार र खोजी कार्यमा नेपाल प्रहरीको टोली परिचालन गरिएको छ। नेपाली तथा चिनियाँ नागरिकहरू बेपत्ता रहेको प्रारम्भिक खबर आए पनि यकिन संख्या अझै नआएको जानकारी दिइएको छ।
छिमेकी चीनतर्फको अविरल वर्षाका कारण आएको बाढीले नेपालतर्फ भयावह असर पुर्याएको हो। सीमापारी चीनमा रहेका मालवाहक गाडीहरू समेत खोलामा थुनिँदा डुबानमा परेका छन्।
प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार बाढी पीडितको उद्धार, राहत तथा क्षतिको विवरण संकलन कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको छ। बाढीको बहाव अझै उच्च रहेकोले जोखिमयुक्त क्षेत्रका सबै नागरिकलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।
तस्बिर स्रोत समाजिक संजाल
