वीरगञ्ज, जेठ १० । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सुदिप राज पाठक को कुशल नेतृत्वमा पर्सा प्रहरीले बालश्रम, शोषण तथा दुर्व्यवहारविरुद्ध सञ्चालन गरेको विशेष अभियान अन्तर्गत वीरगञ्जबाट तीन जना बालिकाको उद्धार गरिएको छ। घटनामा संलग्न रहेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ।
पर्सा प्रहरीले दिएको जानकारीअनुसार वीरगञ्ज महानगरपालिका–१६ भन्सार चोक क्षेत्रमा नाबालिकाहरूमाथि श्रम शोषण तथा दुर्व्यवहार भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी टोली परिचालन गरिएको थियो। प्रहरीको सक्रिय अपरेसनका क्रममा तीन जना बालिकालाई उद्धार गर्नुका साथै घटनामा संलग्न एक जनालाई नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार उद्धार गरिएका बालिकाहरूलाई तत्काल सुरक्षित संरक्षणमा राखिएको छ भने उनीहरूको स्वास्थ्य अवस्था, मनोवैज्ञानिक अवस्था तथा पारिवारिक पृष्ठभूमिबारे आवश्यक अध्ययन भइरहेको छ।
बालिकाहरूलाई आवश्यक संरक्षण, हेरचाह तथा कानुनी सहयोग उपलब्ध गराइने पर्सा प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले “बालश्रम, शोषण र दुर्व्यवहार विरुद्ध कदम” भन्ने मूल नारासहित पछिल्लो समय जिल्लाभर कडा निगरानी तथा अपरेसनलाई तीव्रता दिएको छ। प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा मानव बेचबिखन, बालश्रम तथा बालअधिकार हननविरुद्ध निरन्तर अभियान सञ्चालन भइरहेका छन्।
प्रहरी स्रोतका अनुसार पक्राउ परेका व्यक्तिमाथि मानव बेचबिखन तथा ओसारपसार, बालश्रम तथा बालअधिकार सम्बन्धी कानुनअन्तर्गत थप अनुसन्धान अघि बढाइएको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको र यसमा अन्य व्यक्तिको संलग्नता भए/नभएको विषयमा समेत प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।
स्थानीयवासीले पनि पर्सा प्रहरीले बालअधिकार संरक्षण तथा सामाजिक अपराध नियन्त्रणमा पछिल्लो समय प्रभावकारी भूमिका निर्वाह गरेको बताएका छन्। विशेषगरी सीमावर्ती क्षेत्र तथा भीडभाड हुने स्थानमा बालबालिकामाथि हुने शोषण रोक्न प्रहरीले सक्रिय निगरानी बढाएको छ।
पर्सा प्रहरीले आम नागरिकलाई बालबालिकामाथि हुने कुनै पनि प्रकारको शोषण, दुर्व्यवहार वा संदिग्ध गतिविधिबारे जानकारी भए तत्काल प्रहरीलाई सूचित गर्न आग्रह गरेको छ। प्रहरीका अनुसार समाजको सहकार्य र सचेतनाबाट मात्रै बालश्रम तथा बाल शोषणजस्ता अपराध न्यूनीकरण गर्न सकिने भएकाले सबै पक्षको साथ आवश्यक रहेको छ।
