एसपी सन्तोष तामाङको तस्करी नियन्त्रण अभियान: १ करोड २५ लाख बराबरको अबैध सामान बरामद

समाचार

रसीद आलम

बारा, असार २४ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एसपी सन्तोष तामाङको नेतृत्वमा तस्करी नियन्त्रण अभियान तीव्र पारिएको छ। यसै अभियान अन्तर्गत बारा प्रहरीले करिब १ करोड २५ लाख २४ हजार रुपैयाँ बराबरको अवैध भन्सार छलीका सामानसहित एक कन्टेनर ट्रक नियन्त्रणमा लिएको छ।

ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट प्र.ब.ना.नि. धन प्रसाद श्रेष्ठको कमाण्डमा खटिएको चेकिङ टोलीले असार २४ गते राति करिब १:३० बजे बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका–२१ स्थित अमलेखगंज कार्यालयअगाडिको चेकपोइन्टमा बीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको ना.८ ख ७२४२ नम्बरको डिब्बा ट्रक रोकी चेकजाँच गर्दा उक्त अवैध सामान फेला परेको हो।

ट्रकबाट बिल–बिजकभन्दा फरक तथा भन्सार नतिरी ल्याइएका कस्मेटिक सामान, नरिवल (कोकोनट), बदाम (आल्मोन), कपडा, सर्जिकल सामग्री, इलेक्ट्रोनिक सामान, मोबाइलका पाटपुर्जा र औषधिजन्य वस्तुहरू बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजय राज पण्डितले जानकारी दिए।

बरामद गरिएका ती सामानसहितको ट्रक आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय, पथलैया बारामा बुझाइएको प्रहरीले जनाएको छ।

प्रहरी प्रमुख एसपी तामाङको सशक्त निगरानी र नेतृत्वमा बारा प्रहरीले पछिल्ला दिनहरूमा तस्करी नियन्त्रणमा उल्लेखनीय सफलता हात पारिरहेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *