रसीद आलम
पर्सा, २४ असार । जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार छली गरी ल्याइएका लाखौं मूल्य बराबरका सामानसहित एक ट्रक नियन्त्रणमा लिएको छ।
एसपी गौतम मिश्रको अब्बल नेतृत्वका कारण सो अपरेसन सफल भएको हो।
पर्सा प्रहरीका अनुसार खटिएको विशेष प्रहरी टोलीले मिति २०८२ असार २४ गते राति करीब ३:४५ बजे वीरगञ्ज महानगरपालिका–१४ स्थित गण्डक चोक नजिकैबाट प्रदेश नं. २–०३–००१ ख ५६०९ नम्बरको इटा लोड गरिएको ट्रक जाँच गर्दा भित्री भागमा लुकाई राखिएको काजु, सटिङ–सुटिङ कपडा, कुर्ता–सुरुवाल, र लेडिज टप्स लगायतका सामान फेला पारेको हो।
ट्रकसहित अनुमानित रु. ४१,७८,८०० बराबरका ती सामानहरु भन्सार छली गरेर ल्याइएको प्रहरीले जनाएको छ।ट्रकसहित तीन जना व्यक्तिहरुलाई पक्राउ गरिएको हो।
पक्राउ परेका व्यक्तिहरुमा बारा निजगढ–४ का २८ वर्षीय निकेश राउत कुर्मी, २४ वर्षीय सागर परियार र ३८ वर्षीय विष्णु पाठक रहेका छन्।
पक्राउ परेका व्यक्तिहरु, ट्रक र बरामद सामान आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी किशोर लम्सालले जानकारी दिए।
