वीरगंज, २४ असार । जलवायु परिवर्तनका कारण मधेशका विभिन्न जिल्लामा गम्भीर पानी संकट उत्पन्न भएको बेला संघीय सांसद तथा खानेपानी मन्त्री प्रदीप यादवले वीरगञ्जको विभिन्न प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेका छन्।
मंगलबार पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधित्व गर्ने मन्त्री यादवले हाल पर्सा, बारा, रौतहट लगायतका जिल्लामा चापाकल सुकेर जनजीवन कठिन बन्दै गएको बताए।
उक्त परिस्थितिमा तात्कालिक राहतस्वरूप वीरगंज महानगरपालिका लगायतका बस्तीहरूमा हालसम्म २३७ भन्दा बढी डिप बोरिङ सञ्चालन गरिसकिएको जानकारी उनले दिएका छन्। आगामी आर्थिक वर्षदेखि उक्त कार्यलाई अझ तीव्र रूपमा अगाडि बढाइने भन्दै उनले जनतालाई शीघ्र राहत पुग्ने विश्वास व्यक्त गरे।
मन्त्री यादवले दीर्घकालीन समाधानको लागि एसियाली विकास बैंकको सहयोगमा करिब ४.५ अर्ब रुपैयाँको लागतमा वीरगंज बृहत् खानेपानी आयोजना अगाडि बढिरहेको बताए।
“विपद्को यस घडीमा सबैको सहकार्य आवश्यक छ,” मन्त्री यादवले भने, “स्थानीय, प्रदेश तथा संघ सरकारका सम्बन्धित निकायहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग सहकार्य गरेर मात्र हामी यो संकट पार गर्न सक्छौं।”
मन्त्री यादवले सबै नागरिकलाई धैर्य रहन अपिल गर्दै संकटका घडीमा सहकार्य नै सबैभन्दा ठूलो शक्ति भएको स्मरण गराएका छन्।
