पर्सा ,३१ असार ।
वीरगञ्जस्थित नारायणी अस्पतालमा समाचार संकलनको क्रममा पत्रकारमाथि भएको दुव्र्यवहारप्रति नेपाल पत्रकार महासंघ, जिल्ला समिति पर्सा र नेपाल मुस्लिम पत्रकार संघ, पर्साले गम्भीर आपत्ति जनाउँदै कडा शब्दमा भर्त्सना गरेका छन्।
दिशानिर्देश डटकमका पत्रकार आविद हुसैनमाथि समाचार संकलनको क्रममा अस्पतालका चिकित्सकहरूले अवरोध सिर्जना गर्नुका साथै मोबाइल फोन खोसेर रेकर्ड गरिएको भिडियो जबर्जस्ती मेटाइदिएको गम्भीर घटना सार्वजनिक भएको हो।
नेपाल पत्रकार महासंघ, पर्साले उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सञ्चारकर्मीहरूले आम नागरिकलाई सुसूचित गराउने कर्तव्य निर्वाह गर्ने क्रममा यस्ता अवरोधहरू हुनु अत्यन्त आपत्तिजनक भएको स्पष्ट पारेको छ। महासंघका सचिव विजयकुमार महतोद्वारा जारी विज्ञप्तिमा घटनाको निष्पक्ष छानबिन गरी दोषी चिकित्सकहरूलाई कानूनी दायरामा ल्याउन माग गरिएको छ।
त्यस्तै, नेपाल मुस्लिम पत्रकार संघ, पर्साका अध्यक्ष मन्सुर मियाले घटनाप्रति गम्भीर आपत्ति जनाउँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि नै आक्रमण भएको टिप्पणी गरेका छन्। उनले पत्रकारहरू समाजका आँखाका रूपमा सत्य तथ्य उजागर गर्ने दायित्व निर्वाह गर्ने भएकाले उनीहरूमाथि भएको आक्रमण सम्पूर्ण सञ्चार जगतमाथि भएको आक्रमण सरह भएको बताए।
दुवै संगठनले स्वास्थ्य मन्त्रालय, प्रदेश सरकार, अस्पताल प्रशासन तथा सुरक्षा निकायलाई तत्काल निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न र यस्ता घटना दोहोरिन नदिन प्रभावकारी संयन्त्र निर्माण गर्न आग्रह गरेका छन्।
पत्रकारहरूमाथि भइरहेका दुर्व्यवहार, आक्रमण र अवरोधले समग्र सञ्चार क्षेत्र असुरक्षित बनाउँदै लगेकाले यथाशीघ्र ठोस कदम चाल्नुपर्नेमा दुवै संस्थाले जोड दिएका छन्।
