रक्सौल,६ साउन ।
भारत–नेपाल सीमावर्ती क्षेत्र रक्सौलस्थित एसएसबी (सशस्त्र सीमा बल) चेकपोष्ट नजिकै शनिबार एक मानव तस्करीको प्रयास विफल पारिएको छ। नेपालबाट भारततर्फ पैदल जाँदै गरेका एक युवकसँगै रहेकी नाबालिग किशोरीलाई एसएसबीको एण्टी ह्युमन ट्राफिकिङ युनिट (AHTU) ४७ औं वाहिनीले शंका लागि जाँचका लागि रोकेको थियो।
पूछताछका क्रममा ती युवक मोहम्मद समीरले आफ्नो नाम लुकाई “आकाश” नामले पहिचान बनाएर किशोरीलाई प्रेमजालमा फसाई भारत तर्फ लैजाने प्रयास गरिरहेको तथ्य खुलेको हो। प्रारम्भिक अनुसन्धानपछि एसएसबी टोलीले भारतको सामाजिक संस्था ‘स्वच्छ रक्सौल’ र नेपाल स्थित एनजिओ ‘माईती नेपाल’को सहयोगमा गहिरो अनुसन्धान सुरु गरेको थियो।
काउन्सिलिङका क्रममा किशोरीले युवकको वास्तविक नाम थाहा नभएको र आफूलाई भारत कहाँ लैजाने तयारी भइरहेको छ भन्ने समेत जानकारी नभएको बताएकी थिइन्। युवकको मोबाइल जाँच्दा ‘आकाश’ नामबाट विभिन्न युवतीहरूसँग गरिएको कुराकानीका स्क्रीनसट तथा डाटा भेटिएको र उनी मानव तस्करीको संगठित सञ्जालसँग सम्बन्धित हुन सक्ने आशंका गरिएको छ।
किशोरी मोहम्मद समीरको प्रलोभनमा परेर परिवारलाई जानकारी नदिई भारत जान तयार भएकी थिइन्। उनका परिवारले नेपाल, महोत्तरी जिल्ला अन्तर्गत बर्दिबास प्रहरी कार्यालयमा उनको हराएको सूचना दिएको पुष्टि भएको छ।
घटना सार्वजनिक भएपछि एसएसबीले नाबालिग किशोरी र युवकलाई थप कानुनी कारबाहीका लागि पर्सा जिल्लाको ईनरुवा प्रहरी चौकी (वीरगञ्ज)लाई जिम्मा दिएको छ।
उक्त उद्धार कार्यमा एएचटीयू टोलीका प्रमुख इन्स्पेक्टर विकास कुमार, सहायक निरीक्षक खेमराज, हवल्दार अरविन्द द्विवेदी, महिला प्रहरी शालिनी सिंह र सोनाली कुमारीसहित एनजिओ ‘स्वच्छ रक्सौल’बाट रञ्जित सिंह र साबरा खातुनको महत्वपूर्ण भूमिका रहेको थियो।
मानव तस्करीको प्रयास समयमै पत्ता लागी उद्धार भएको यो घटनाले सिमावर्ती क्षेत्रमा अझ सतर्कता अपनाउनुपर्ने आवश्यकता देखिएको छ।
