बिजुली पोलमा आगलागी, सई थपलियाले ज्यानको बाजी लगाई नियन्त्रण — वीरगञ्ज प्रहरीको साहसिक कार्यको प्रशंसा

समाचार

वीरगञ्ज, ६ साउन ।
वीरगञ्ज महानगरपालिका–१६ माईधिया पोखरीस्थित एक बिजुलीको पोलमा आज बेलुका अचानक आगलागी भएको छ। सर्ट सर्किटका कारण भएको उक्त आगलागीले स्थानीयवासीलाई केही समयका लागि आतंकित बनाएको थियो। तर, घटनास्थलमा तत्कालै प्रहरी उपस्थित भई साहसिक ढंगले आगो नियन्त्रणमा लिन सफल भएको छ।

प्रहरी चौकी बसपार्कका ईन्चार्ज तथा प्रहरी नायब निरीक्षक (सई) धिरेन्द्र थपलियाले आफूलाई जोखिममा राख्दै आगो निभाउने प्रयास गरेका थिए। प्रत्यक्षदर्शीहरूका अनुसार, सई थपलियाले कुनै सुरक्षात्मक उपकरण विना नै ज्यानको पर्वाह नगरी सक्रियतापूर्वक आगो नियन्त्रणमा लिए, जसले स्थानीय जनताको जिउ र धनको सुरक्षामा ठूलो योगदान पुर्‍याएको छ।

स्थानीयवासीहरूले सई थपलियाको यो कार्यलाई असल प्रहरीको उदाहरणको रूपमा लिएका छन्। उनीहरूको भनाइमा, “प्रहरी हाम्रो समाजको सुरक्षा कवच हो, जो हरेक संकटमा पहिलोपटक खटिन्छ। चाहे घरेलु झगडा होस् वा चोरी, समाजमा अपराध नियन्त्रणदेखि लिएर शान्ति सुरक्षासम्म प्रहरीको भूमिका अत्यन्तै महत्वपूर्ण छ।”

आगलागीबाट ठूलो क्षति हुन नपाएको र समयमै नियन्त्रणमा लिइएकोमा स्थानीयहरूले राहत महसुस गरेका छन्। उक्त घटनाले पुनः एकपटक प्रहरीको जोखिमपूर्ण र समर्पित सेवाको आवश्यकता र महत्वलाई उजागर गरेको छ।

सामान्यतः यसप्रकारको सर्ट सर्किटको कारण हुने आगलागीले जनधनमा ठूलो क्षति पु-याउने सम्भावना हुन्छ, तर सई थपलियाको तुरुन्त प्रतिकृया र साहसिक कदमले ठूलो दुर्घटना टारेको हो।

घटनापछि स्थानीयवासीहरूले सई थपलिया लगायत सम्पूर्ण प्रहरी टोलिलाई धन्यवाद व्यक्त गर्दै सम्मान गर्नुपर्ने आवाजसमेत उठाएका छन्। प्रहरी संगठनभित्र पनि सई थपलियाको यस कार्यको उच्च प्रशंसा हुने विश्वास गरिएको छ।

यो घटनाले देखाएको छ कि प्रहरी न केवल कानुनी पालनको संरक्षक हो, तर संकटको घडीमा नागरिकको ज्यान र सम्पत्ति जोगाउने एक असल र निस्वार्थ साथी पनि हो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *