पोखरियामा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, प्रहरी र युवासमाजको सहकार्यमा १२० विद्यार्थी लाभान्वित

समाचार

वीरगञ्ज,२५ बैशाख  । पर्साको पोखरिया नगरपालिकामा अध्ययनरत बालबालिकालाई शैक्षिक क्षेत्रमा प्रोत्साहन गर्ने उद्देश्यले शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरिएको छ।

मिति २०८३/०१/२४ गते जिल्ला पर्सा पोखरिया नगरपालिका वडा नं. ४ स्थित श्री नेपाल रेडक्रस प्राथमिक विद्यालयमा अध्ययनरत १२० जना विद्यार्थीलाई ईलाका प्रहरी कार्यालय पोखरिया तथा पोखरिया बजरंग युवा समाजको संयुक्त सहकार्यमा पठनपाठनका लागि आवश्यक शैक्षिक सामग्री वितरण गरिएको हो।

विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई कापी, कलमलगायत विभिन्न शैक्षिक सामग्री हस्तान्तरण गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेलले विद्यार्थीहरूलाई अनुशासित, जिम्मेवार तथा शिक्षाप्रति समर्पित बन्न आग्रह गर्दै शिक्षा नै समाज परिवर्तनको मुख्य आधार भएको बताए। उनले बालबालिकालाई विद्यालय नियमित उपस्थित भई मन लगाएर अध्ययन गर्न प्रेरित गर्दै समुदाय र प्रहरीबीचको सम्बन्ध अझ मजबुत बनाउन यस्ता सामाजिक कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।

कार्यक्रममा बोल्दै स्थानीय सरोकारवालाहरूले प्रहरी र सामाजिक संस्थाको सहकार्यमा गरिएको उक्त अभियानले आर्थिक रूपमा कमजोर तथा आवश्यक सामग्री अभाव झेलिरहेका विद्यार्थीहरूलाई ठूलो राहत पुगेको बताए। उनीहरूले आगामी दिनमा पनि यस्ता सामाजिक तथा शैक्षिक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याए।

पोखरिया बजरंग युवा समाजका प्रतिनिधिहरूले शिक्षा क्षेत्रको विकास र बालबालिकाको उज्ज्वल भविष्य निर्माणका लागि समाज सधैं सकारात्मक कार्यमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका थिए।

विद्यालय प्रशासनले समेत विद्यार्थीको शैक्षिक विकासमा सहयोग पुर्‍याएको भन्दै ईलाका प्रहरी कार्यालय पोखरिया र बजरंग युवा समाजप्रति आभार व्यक्त गरेको छ।

स्थानीय अभिभावकहरूले प्रहरी केवल सुरक्षा निकायमा सीमित नभई सामाजिक उत्तरदायित्व बहन गर्दै शिक्षा, जनचेतना र समुदाय विकासमा समेत सक्रिय देखिएको भन्दै प्रशंसा गरेका छन्। कार्यक्रमले विद्यार्थीहरूमा उत्साह थप्नुका साथै विद्यालयमा सकारात्मक शैक्षिक वातावरण निर्माण गर्न सहयोग पुगेको विश्वास गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *