डिएसपी भण्डारीको कमान्डमा तस्करी नियन्त्रण अभियान तीव्र : एकैदिन दुई स्थानमा छापा, ७ लाखभन्दा बढीको कपडा बरामद

समाचार

वीरगञ्ज, १२ साउन ।
सशस्त्र प्रहरी बल पर्सा अन्तर्गत प्रस्तावित सीमा सुरक्षा गुल्म, वीरगञ्जका गुल्मपति डिएसपी पुरुषोत्तम भण्डारीले तस्करी नियन्त्रण अभियान अन्तर्गत एकैदिन दुई स्थानमा ताबरतोड छापा मार्दै करिब ७ लाख ६ हजार ६ सय रुपैयाँ बराबरको भन्सार छली गरिएका कपडा बरामद गरेका छन्। डिएसपी भण्डारीले कमान्ड सम्हालेको एक सातामै उनी नेतृत्वको टोलीले यो उल्लेखनीय सफलता हात पारेको हो।

प्राप्त विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी र भन्सार कार्यालय वीरगञ्जको संयुक्त टोलीले मिति २०८२ साल साउन ११ गते वीरगञ्ज महानगरपालिका–१० मा दुई फरक स्थानमा छापा मारेको थियो। पहिलो छापा अन्दाजी साँझ ४:३५ बजे आदर्शनगरको एक गोदाममा हानिएको थियो, जहाँ भारतबाट भन्सार छलि चोरी पैठारी गरी ल्याइएको अवैध कपडा भण्डारण गरिएको सूचनाको आधारमा कारवाही गरिएको थियो।

त्यसपछि दोस्रो छापा सोही दिन साँझ ५:५५ बजे वीरगञ्ज–१० आदर्शनगरमा रहेको अरुण कुमार तेलीको घरमा मारिएको थियो। त्यहाँ पनि भन्सार छलि चोरी पैठारी गरिएका विभिन्न रेडिमेड कपडाहरू ठूलो परिमाणमा फेला परेका थिए।

उक्त अभियानमा डिएसपी भण्डारीको कमान्डमा १५ जना सशस्त्र प्रहरी र भन्सार कार्यालय वीरगञ्जका नायब सुब्बा सुवर्ण पौडेलको नेतृत्वमा ३ जना कर्मचारी सहभागी थिए। संयुक्त टोलीले बरामद गरिएको रु. ७,०६,६०० बराबरको कपडा वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल पर्सा स्रोतले जानकारी दिएको छ।

डिएसपी पुरुषोत्तम भण्डारी सशस्त्र प्रहरी बलमा एक कुशल विपद् व्यवस्थापन विशेषज्ञको रूपमा परिचित छन्। उनले तस्करी नियन्त्रण कार्यमा देखाएको सक्रियता र सफलता प्रशंसनीय मानिएको छ। स्थानीय जानकारहरू भन्छन्, “डिएसपी भण्डारीको सक्रियता र योजनाबद्ध अभियानका कारण सिमा नाका हुँदै हुने तस्करी नियन्त्रणमा उल्लेखनीय प्रभाव देखिएको छ। उनी अब तस्करी नियन्त्रणका विशेषज्ञको रूपमा परिचित बन्दै गएका छन्।”

तस्करी नियन्त्रणका यस्ता छापा तथा कारवाहीहरूले सीमा क्षेत्रमा हुने अवैध कारोबारमा ठूलो धक्का पुर्‍याएको छ भने सुरक्षाकर्मीहरूमा पनि उत्साह थपिएको देखिएको छ। स्थानीय व्यापारी, भन्सार प्रशासन र सर्वसाधारणले पनि डिएसपी भण्डारीको यो प्रयासको सराहना गरेका छन्।

सशस्त्र प्रहरी बलले आगामी दिनहरूमा अझै योजनाबद्ध रूपमा तस्करी नियन्त्रणमा अभियानलाई तीव्र बनाउने जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *