पर्सा, १८ साउन ।
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय पर्साबाट खटिएको टोलीले दुई फरक घटनामा भन्सार छलि ल्याइएका अवैध सामान र सालको काठ बरामद गरी सम्बन्धित निकायमा बुझाएको छ।
मिति २०८२ साल साउन १७ गते पर्सा जिल्लाको पकाहाँमैनपुर गाउँपालिका–५, सबैठवाबाट भारतबाट अवैध रुपमा भन्सार छली नेपाल भित्र्याइएका कपडा, कस्मेटिक सामग्री र इलेक्ट्रोनिक सामानहरू बरामद गरिएको हो। ती सामग्रीहरू दुई वटा मोटरसाइकलमा लोड गरि ल्याइँदै गरेको अवस्थामा सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएको थियो। बरामद सामग्रीहरूको अनुमानित बजार मूल्य रु. २,३८,०७५।– रहेको छ भने प्रयोग गरिएको दुई वटा मोटरसाइकलको मूल्य रु. २,००,०००।– आकलन गरिएको छ।
उक्त सामग्रीहरू आवश्यक कारबाहीको लागि मिति २०८२ साउन १८ गते वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी कृष्ण सिंह पुजाराले जानकारी दिनुभयो।
यस्तै, मिति २०८२ साउन १८ गते दिउँसो १:०५ बजे पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–३१ सोलखपुरस्थित सशस्त्र प्रहरी बेश बेलवाबाट अवैध रूपमा काटिएको काठ समेत बरामद गरिएको छ। सशस्त्र प्रहरी नायब निरीक्षक जितबहादुर बलको कमान्डमा खटिएको ४ जनाको टोलीले जंगलबाट कटान गरि खेतको छेउमा लुकाई राखिएको ६.७७ क्युबिक फिट बराबरको सालको गोलीया बरामद गरेको हो। उक्त काठको अनुमानित मूल्य रु. २३,६९५।– रहेको छ।
बरामद गरिएको काठ सब डिभिजन बन कार्यालय सबैयामा दिउँसो १:२५ बजे बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीको यस्ता सतर्कता र अभियानले सीमा क्षेत्रबाट हुने तस्करी तथा अवैध कार्यहरू नियन्त्रणमा उल्लेखनीय भूमिका खेलेको देखिएको छ।
