पर्साको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा वृक्षारोपण कार्यक्रम सम्पन्न

समाचार

पर्सा, साउन १८ गते ।
जिल्ला प्रहरी कार्यालय पर्सा अन्तर्गत इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली पर्सामा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। मिति २०८२ साल साउन १८ गतेका दिन कार्यालय प्रमुख प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा कार्यालय परिसरमा विभिन्न प्रजातिका बोट बिरुवाहरू रोपिएको हो।

प्रकृति संरक्षण, वातावरणीय सन्तुलन र हरियाली विस्तारको उद्देश्यले सञ्चालन गरिएको यस वृक्षारोपण कार्यक्रममा प्रहरी निरीक्षक थापासहित कार्यालयका अन्य प्रहरी कर्मचारीहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा अम्बा, लिची, अशोक, छायाँ दिने वृक्ष, फूल र औषधीय महत्व भएका विभिन्न जातका बिरुवाहरू रोपिएका थिए।

कार्यक्रमका अवसरमा बोल्दै प्रहरी निरीक्षक थापाले वातावरण संरक्षण र प्रहरी समुदायको सम्बन्ध सुदृढ पार्न यस्ता कार्यक्रमले सकारात्मक सन्देश दिने बताउनुभयो। उहाँले प्रहरी सेवा केवल सुरक्षा प्रवाहमा मात्र सीमित नरही समाजप्रति उत्तरदायी र समर्पित भई कार्य गर्नु आवश्यक रहेको समेत उल्लेख गर्नुभयो।

स्थानीय समुदाय, विद्यालय, संघ–संस्थासँग सहकार्य गर्दै आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रहरी निरीक्षक थापाले प्रतिबद्धता जनाउनुभएको छ। वृक्षारोपण कार्यक्रममा सहभागी सबैले प्रकृति संरक्षणमा जनचेतना फैलाउनुका साथै वातावरणमैत्री प्रहरी अभियानमा हातेमालो गर्नुपर्ने कुरामा जोड दिएका थिए।

यस कार्यक्रमलाई सफल बनाउन इलाका प्रहरी कार्यालयका सम्पूर्ण प्रहरी कर्मचारीको सक्रिय सहभागिता रहनुका साथै वृक्षारोपणपछिको संरक्षण र निगरानीका लागि विशेष कार्ययोजना समेत तय गरिएको जनाइएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *