वीरगंज, भदौ ७ ।
वीरगंज महानगर क्षेत्रमा हैजाको संक्रमण थप फैलिने उच्च जोखिम देखिएपछि महानगरपालिका रोकथाम र नियन्त्रणका लागि सक्रिय बनेको छ। शुक्रबार रातिदेखि नै महानगरले विशेष स्वास्थ्यकर्मी टोली प्रभावित क्षेत्रमा परिचालन गरी स्थानीयलाई सतर्कता अपनाउन आह्वान गरेको छ।
स्वास्थ्यकर्मी टोलीले शनिबार बिहानदेखि घर–घरमा पुगेर सर्वसाधारणलाई हैजासम्बन्धी लक्षणबारे जानकारी दिँदै स्वास्थ्य परीक्षणसमेत सुरु गरेको हो। हैजाका लक्षणहरूमा लगातार झाडापखाला लाग्ने, वान्ता हुने, पेट दुख्ने, आँखाको पुतली गाडिने, शरीरमा पानी कमी भई मांसपेसी दुख्ने र ज्वरो आउनु प्रमुख लक्षण भएको चिकित्सकहरूले बताएका छन्। यी लक्षण देखिएमा ढिलाइ नगरी तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न स्वास्थ्य विज्ञहरूले आग्रह गरेका छन्।
चिकित्सकहरूका अनुसार हैजाको समयमा समयमै उपचार नपाए बिरामीको ज्यानसमेत गुम्ने खतरा हुन्छ। त्यसैले प्रभावित क्षेत्रमा सचेतना अभिवृद्धि र त्वरित उपचार सेवामार्फत हैजाको सम्भावित महामारी नियन्त्रण गर्न महानगरले सक्रियता बढाएको हो।
महानगर प्रमुख राजेशमान सिंहले सर्वसाधारणलाई स्वास्थ्यमा विशेष सतर्कता अपनाउन आग्रह गर्दै भने,
“हैजाजस्ता पानीजन्य रोगबाट बच्न सरसफाइमा ध्यान दिनु अनिवार्य छ। खाना खानु अघि वा दिसा–पिसाब गरेपछि अनिवार्य रूपमा साबुनपानीले हात धुनुपर्छ। घर र वरिपरि सफा राखौं, दूषित पानी वा खानपान सेवन नगरी सावधानी अपनाऔं।”
वीरगंज महानगरले हैजा तथा अन्य पानीजन्य रोग नियन्त्रणका लागि निःशुल्क उपचार, सचेतना कार्यक्रम, सुरक्षित खानेपानी प्रयोगमा जोड, र आपतकालीन स्वास्थ्यकर्मी टोली गठन गर्ने निर्णय गरेको जनाएको छ।
स्वास्थ्यकर्मीहरूले स्थानीयवासीलाई दूषित पानी नपिउन, पानी उमालेर मात्र सेवन गर्न, ढुंगामाटो, धुलो वा मक्खी लाग्ने खालका खानेकुरा ढाकेर राख्न, तथा सरसफाइलाई दैनिक जीवनशैलीमा प्राथमिकता दिन आग्रह गरेका छन्।
महानगरले थप सहयोगका लागि हेल्पलाइन नम्बर सार्वजनिक गर्दै, हैजासम्बन्धी कुनै पनि लक्षण देखिएमा ढिलाइ नगरी तत्काल जानकारी दिन आग्रह गरेको छ।
यसरी स्थानीय प्रशासन, स्वास्थ्यकर्मी र जनसहभागितामार्फत वीरगंज महानगरले हैजाको जोखिम न्यूनिकरण गरी महामारी फैलन नदिन विशेष अभियान सञ्चालन गरिरहेको छ।
