बारा सशस्त्रका एसपी केसीको तस्करी माथि कडा प्रहार , बरामद भयो ८ लाखको अबैध समान ।

समाचार

बारा, ८ भदौ ।बारा सशस्त्र प्रहरीद्वारा तस्करीविरुद्ध कडा प्रहार गर्दै करिब ८ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ।
सशस्त्र प्रहरी बल, बारा मातहतका विभिन्न सीमा नाकामा तैनाथ टोलीले तस्करीविरुद्ध कडा अभियान चलाउँदै करिब ८ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ। एसपी खुमबहादुर केसीको नेतृत्वमा सञ्चालन गरिएको उक्त अभियानमा जिउँदो ब्रोईलर कुखुरादेखि लिएर मोटरसाइकल र अन्य सामग्रीहरू बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीका अनुसार, मटिअर्वा स्थित सीमा सुरक्षा गुल्म र कबहिगोठ BOP बाट खटिएको टोलीले कलैया–१० मटेर्वा सीमा क्षेत्र र शनिस्चरे, सुवर्णपुर–३ सन्तगंज सीमा क्षेत्रमा चेकजाँच गर्ने क्रममा करिब २२० केजी जिउँदो ब्रोईलर कुखुरा र ३ थान मोटरसाइकल बरामद गरिएको छ। उक्त सामग्रीको अनुमानित मूल्य रु. ५ लाख ३ हजार ४ सय रहेको छ।

यस्तै, मिति २०८२ साउन ६ गते बिहान ११:५० बजे तिर, बिश्रामपुर गाउँपालिका–३ मुसहर्वा सीमा इलाकामा स.प्र.नि. सुजल भण्डारीको नेतृत्वमा खटिएको सशस्त्र प्रहरी टोलीले ९१ हजार ५७३ रुपैयाँ बराबरको ११७ र २५० पिस कुर्सीमा प्रयोग हुने घुम्ने चक्का बरामद गरेको छ।

त्यसैगरी, मिति २०८२ साउन ५ गते साँझ ६:१५ बजे बिश्रामपुर गाउँपालिका–४ खुदिया सीमा इलाकामा, एफ.ओ.बि. बलिरामपुरबाट खटिएको स.प्र.ना.नि. हरि प्रसाद लम्सालको टोलीले भारतबाट मोटरसाइकलमार्फत नेपालतर्फ ल्याउँदै गरिएको करिब १ लाख २१ हजार ५ सय रुपैयाँ मूल्य बराबरको रेडिमेड कपडा बरामद गरेको जनाएको छ।

यसै क्रममा, जिल्लाका अन्य विभिन्न स्थानहरूबाट समेत ८५ हजार रुपैयाँ बराबरको किराना सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद गरिएको जिउँदो ब्रोईलर कुखुरा नष्ट गरिएको छ भने अन्य सबै सामान आवश्यक प्रक्रिया पूरा गरी भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल, बाराले जनाएको छ।

सशस्त्र प्रहरीका एसपी खुमबहादुर केसीका अनुसार, तस्करी नियन्त्रणलाई अझ प्रभावकारी बनाउन सीमा क्षेत्रमा निगरानी बढाइएको छ र आगामी दिनमा पनि यस्ता अवैध क्रियाकलापलाई कडाइका साथ नियन्त्रण गरिनेछ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *