रसीद आलम
बारा, १४ भदौ ।
बाराको पथलैयामा रहेको राजस्व अनुसन्धान कार्यालयले कर छलीविरुद्ध आक्रामक र प्रभावकारी अभियान सञ्चालन गर्दै उल्लेखनीय सफलता हासिल गरेको छ। आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को तुलनात्मक विवरणले कार्यालयले मुद्दा दर्ता, माग दाबी, धरौटी संकलन, सदरस्याहा, लिलाम बिक्री लगायतका सूचकमा अभूतपूर्व प्रगति गरेको देखाएको छ।
धरौटी संकलन र सदरस्याहा रकममा उल्लेखनीय वृद्धि
कार्यालयले अघिल्लो आ.व. २०८०/८१ मा रु. ६ करोड ११ लाख ३५ हजार ८७५.७० बराबरको राजस्व चुहावट धरौटी संकलन गरेको थियो भने चालु आ.व. २०८१/८२ मा यो रकम बढेर रु. ११ करोड ७६ लाख ८५ हजार ००१.४० पुगेको छ। यसरी धरौटी संकलन ९२.५० प्रतिशतले वृद्धि भएको छ।
धरौटी सदरस्याहा रकम तर्फ पनि उल्लेखनीय प्रगति भएको छ। अघिल्लो आ.व. मा रु. २ करोड ४ लाख ३४ हजार ६९५.७७ मात्र सदरस्याहा भएकोमा यस आ.व. मा यो बढेर रु. ६ करोड ६१ लाख १० हजार ७३५.६३ पुगेको छ। यसरी सदरस्याहा रकम २२३.५२ प्रतिशतले बढेको छ।
राजस्व चुहावट मुद्दा र माग दाबी
कर छलीसम्बन्धी मुद्दा दर्ता संख्यामा पनि ठूलो वृद्धि भएको छ। अघिल्लो आ.व. मा ३ वटा मुद्दा दर्ता भएकोमा चालु आ.व. मा यो बढेर १४ पुगेको छ, जुन ३६६.६७ प्रतिशतले बढी हो।
यस्तै, राजस्व चुहावट मुद्दा माग दाबी रकम अघिल्लो आ.व. को रु. ४ करोड ५४ लाख ११ हजार २९८ बाट बढेर चालु आ.व. मा रु. ७६ करोड ३५ लाख ३६ हजार ३००.६४ पुगेको छ। यसरी माग दाबी रकम १५८१.३८ प्रतिशतले वृद्धि भएको छ।
विदेशी विनिमय मुद्दा
विदेशी विनिमयसम्बन्धी मुद्दा दर्ता अघिल्लो आ.व. मा ११ रहेकोमा चालु आ.व. मा १४ पुगेको छ, जसले २७.२७ प्रतिशत वृद्धि देखाउँछ। सो मुद्दामा माग दाबी रकम पनि अघिल्लो आ.व. को रु. २ करोड १ लाख ८७ हजार ९६८ बाट बढेर चालु आ.व. मा रु. २ करोड ७२ लाख ८७ हजार ९५९.०५ पुगेको छ, जुन ३५.१७ प्रतिशतले बढी हो।
लिलाम बिक्री र जरिवाना
कार्यालयले लिलाम बिक्रीतर्फ पनि ऐतिहासिक उपलब्धि हात पारेको छ। अघिल्लो आ.व. मा रु. ८४ लाख ८६ हजार ८५९.३७ बराबरको लिलाम बिक्री भएकोमा चालु आ.व. मा यो बढेर रु. ५ करोड ४९ लाख १८ हजार ६२६ पुगेको छ। यसरी लिलाम बिक्री ५४७.१० प्रतिशतले वृद्धि भएको हो।
VCTS जरिवाना तर्फ अघिल्लो आ.व. मा रु. ९८ लाख १५ हजार दाखिला भएकोमा चालु आ.व. मा रु. ९९ लाख ९८ हजार पुगेको छ, जुन १.८६ प्रतिशतको वृद्धि हो।
उजुरी फस्र्योट दर
कार्यालयले दर्ता भएका उजुरी फस्र्योटलाई प्राथमिकतामा राखेको छ। अघिल्लो आ.व. मा ५८.३२ प्रतिशत उजुरी फस्र्योट भएकोमा यस आ.व. मा यो बढेर ९३.४९ प्रतिशत पुगेको छ। बाँकी उजुरी पनि फस्र्योटको प्रक्रियामा रहेको कार्यालयले जनाएको छ।
प्रमुख शर्माको नेतृत्वमा कडाइ

राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख अनुसन्धान अधिकृत हरि प्रसाद शर्माको नेतृत्वमा पछिल्लो समय कर छली र तस्करी नियन्त्रणमा कडाइ गरिएको छ। शर्माले कार्यालयभित्र बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध गर्दै सेवाग्राहीलाई सहज र पारदर्शी सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।
“मेरो मातहतका कुनै कर्मचारीले आर्थिक प्रलोभनमा परेर सेवाग्राहीलाई दुःख दिने कार्य गरेमा कडा कारबाही गर्नेछु,” शर्माले चेतावनी दिएका छन्।
समाजको प्रशंसा र सुशासनतर्फको कदम
स्थानीय बुद्धिजीवी, व्यापारी तथा समाजसेवीहरूले कार्यालयको कामको प्रशंसा गर्दै राजस्व अनुसन्धान कार्यालय पथलैया उदाहरणीय मोडल बनेको बताएका छन्। जनशक्ति अभावका बाबजुद पनि कार्यालयले देखाएको प्रगति सुशासन, पारदर्शिता र राज्यको आर्थिक समृद्धिको दिशामा आशाको किरण बनेको उनीहरूको धारणा छ।
यसरी पथलैया राजस्व अनुसन्धान कार्यालयले कर छली नियन्त्रणमा गरेको कडाइ र उपलब्धिले राज्यको राजस्व सङ्कलनमा मात्र नभई सुशासन प्रवर्धनमा पनि महत्वपूर्ण योगदान पुर्याएको छ।
