बिरगंज, भदौ १४ ।
हालै देखिएको हैजाको प्रकोपलाई ध्यानमा राख्दै बिरगंज महानगरपालिकाले भोलि भदौ १५ गतेदेखि १७ गतेसम्म नगरभित्रका सबै विद्यालय र कोचिङ सेन्टरमा पठनपाठन स्थगित गर्ने निर्णय गरेको छ।
महानगरले जारी गरेको सूचनामा भनिएको छ— हैजाको संक्रमण रोकथाम र विद्यालय सञ्चालनको पूर्वतयारीका लागि शैक्षिक संस्थाहरूले आवश्यक तयारी गर्नुपर्नेछ। यस क्रममा विद्यालयको शौचालय तथा खानेपानी ट्याङ्की सफा गर्ने, क्लोरिनको झोल प्रयोग गरी पानी शुद्धिकरण गर्ने, WASH फोकल पर्सन तोकी स्वास्थ्य संस्थासँग प्रत्यक्ष सम्पर्कमा रहने व्यवस्था मिलाउने र विद्यार्थीमध्ये कसैलाई हैजाको लक्षण देखिएमा तत्काल सम्बन्धित महाशाखामा जानकारी गराउने व्यवस्था गर्नुपर्नेछ।
महानगरले सम्पूर्ण शैक्षिक संस्थाहरूलाई सरसफाइका मापदण्ड पालना गर्दै सुरक्षित वातावरणमा मात्र पठनपाठन सञ्चालन गर्ने पूर्वतयारी मिलाउन आग्रह गरेको छ।
