बिरगंज,१९ भदौ ।
बिरगंज महानगरपालिकाले हैजा रोग नियन्त्रणका लागि अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। उपप्रमुख इम्तियाज आलमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हैजाको जोखिम र रोकथामका उपायबारे सुझाव संकलन गरिएको थियो।
बक्ताहरूका अनुसार झाडापखालासँग मिल्दोजुल्दो देखिने हैजा गम्भीर प्रकृतिको रोग हो। संक्रमण भएको केही घण्टादेखि पाँच दिनभित्र लक्षण देखिन सक्छ। फोहोर पानी, खोलानाला वा तलाउ यसको प्रमुख स्रोत मानिन्छ। धेरैजसो संक्रमितमा सामान्य लक्षण देखिए पनि केही अवस्थामा अवस्था गम्भीर बन्न सक्ने चेतावनी दिइयो।
रोगबाट बच्न शौचालयको प्रयोग गर्ने, फोहोर व्यवस्थापन सही ठाउँमा गर्ने, दिसापिसाबपछि साबुन–पानीले राम्ररी हात धुने, खाना बनाउनुअघि हात सफा गर्ने, पानी उमालेर खाने, काँचो तरकारी र सलाद सफा पानीले धोएर मात्र सेवन गर्ने सिफारिस गरियो।
हाल झाडापखाला र हैजाको प्रकोप देखिएपछि महानगरले आफ्नै प्रयोगशालामार्फत खानेपानी परीक्षण सुरु गरेको छ। वडा नम्बर १०, ११ र १२ का विभिन्न पाँच स्थानका धाराबाट नमुना संकलन गरी परीक्षण भइरहेको उपप्रमुख आलमले जानकारी दिए। माइक्रोबायोलोजिस्ट अजय मण्डलसहितको प्राविधिक टोलीले संकास्पद क्षेत्रमा पुगेर नमुना संकलनलाई तीव्रता दिएको छ।
यसका साथै, महानगरभित्रका अस्पतालहरूको नियमित अनुगमन भइरहेको उपप्रमुखका प्रेस सल्लाहकार महमद सदाबले बताए। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, स.प्र.जि.अ. सुमन कुमार कार्की, नारायणी अस्पतालका मेसु डा. चुमन लाल दास, जिल्ला प्रहरी नायब उपरीक्षक किशोर लम्साल, प्रशासन महासाखा प्रमुख सुनिल कुमार कर्णलगायतको उपस्थिती रहेको थियो।
