अविरल वर्षा पछि आएको बाढी बीच सशस्त्र प्रहरीद्वारा गर्भवती महिलाको वीरगञ्जमा उद्धार

समाचार

पर्सा, असोज १९ –।अविरल वर्षापछि आएको बाढीले प्रभावित क्षेत्रहरूमा सशस्त्र प्रहरी बल, नेपाल पर्साले उद्धार कार्यलाई युद्धस्तरमा अघि बढाइरहेको छ। यही क्रममा एक गर्भवती महिलालाई जोखिमपूर्ण अवस्थाबाट उद्धार गरी अस्पतालसम्म सुरक्षित रूपमा पुर्‍याइएको छ।

असोज १९ गते साँझ करिब ६ बजे सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण हे.क्वा. पर्साबाट सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्र प्रकाश मल्लको कमाण्डमा खटिएको ११ जनाको विशेष उद्धार टोलीले वीरगञ्ज महानगरपालिका–११ श्रीपुरस्थित दिनेश चौरसियाको घरमा डेरा गरी बस्दै आएकी गर्भवती महिला रिचा चौधरीलाई उद्धार गरेको हो।

३१ वर्षीया चौधरी सखुवाप्रसौनी गाउँपालिका–३ की स्थायी बासिन्दा हुन्। निरन्तर वर्षाका कारण स्थानीय बस्ती डुबानमा परेपछि उनको स्वास्थ्य अवस्था बिग्रिएको सूचना पाएलगत्तै सशस्त्र प्रहरीको टोली उक्त स्थानमा पुगेर तत्काल उद्धार कार्य प्रारम्भ गरेको थियो। जोखिमपूर्ण अवस्थामा घरभित्र फसेकी गर्भवती महिलालाई उद्धार टोलीले सुरक्षित रूपमा बाहिर निकाली बीरगञ्ज हेल्थ केयर अस्पतालमा पुर्‍याएको हो।

सशस्त्र प्रहरी बल, नेपाल पर्साका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसपी) पुरन चन्द्र भट्टका अनुसार अविरल वर्षाका बीच पनि सशस्त्र प्रहरीका टोलीहरू निरन्तर रूपमा जनताको ज्यान र सम्पत्तिको सुरक्षाका लागि खटिरहेका छन्। उनले भने, “यस विपद्को समयमा हाम्रो पहिलो प्राथमिकता मानव जीवनको सुरक्षा हो। सशस्त्र प्रहरी बल सधैं जनताको सुरक्षाका लागि तत्पर छ र कुनै पनि आपत् व्यवस्थापनमा अग्रसर हुनेछ।”

बाढी, पहिरो र डुबानका घटनाहरू बढिरहेका बेला सशस्त्र प्रहरीले देशका विभिन्न प्रभावित क्षेत्रहरूमा उद्धार, राहत र जोखिम न्यूनीकरणका कार्यहरू निरन्तर सञ्चालन गर्दै आएको छ। वीरगञ्जको यो घटना पनि सशस्त्र प्रहरी बलको जनसेवाप्रतिको समर्पणको उदाहरणका रूपमा लिइएको छ।

सशस्त्र प्रहरी बल, नेपाल पर्साले आगामी दिनहरूमा पनि स्थानीय प्रशासनसँग समन्वय गरी उद्धार र राहत कार्यलाई अझ सशक्त रूपमा अघि बढाउने जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *