पाँच जना प्रहरी नायव महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

समाचार

काठमाडौं, १८ कार्तिक ।
नेपाल सरकार गृहमन्त्रालयको २०८२ कात्तिक १७ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायव महानिरीक्षक (डीआईजी) पदमा पदोन्नति भएका पाँच जना अधिकारीहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरिएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा सोमबार आयोजित विशेष समारोहमा प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्र कुबेर खापुङले पदोन्नति प्राप्त अधिकारीहरूलाई दर्ज्यानी चिन्ह लगाइदिँदै पदोन्नतिको बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभयो ।

दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी नायव महानिरीक्षकहरूमा भूपेन्द्र बहादुर खत्री, सानु राम भट्टराई, ओम प्रसाद अधिकारी, शेखर खनाल र अबि नारायण काफ्ले रहेका छन् ।

समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खापुङले पदोन्नति पाउनु अधिकारीहरूको दक्षता, कार्यकुशलता, इमानदारी र राष्ट्रप्रति समर्पणको उचित मूल्याङ्कन भएको बताउनुभयो । उहाँले पदोन्नति पाएका अधिकृतहरूलाई संगठन, राष्ट्र र जनताप्रति आफ्नो दायित्व जिम्मेवारीपूर्वक वहन गर्न, परम्परागत कार्यशैलीमा सुधार ल्याई व्यावसायिक र उत्तरदायी प्रहरीको छवि कायम गर्न निर्देशन दिनुभयो ।

उहाँले हालको संवेदनशील समयमा प्रहरी नेतृत्वको भूमिका प्रशासनिक मात्र नभई नैतिक, रणनीतिक र प्रेरणादायी हुनुपर्ने उल्लेख गर्दै उच्च मनोबलका साथ जनसेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । साथै आगामी दिनमा उत्पन्न हुन सक्ने चुनौतीहरूको सामना गर्न सूचना संकलन, विश्लेषण, रणनीतिक समन्वय र प्रभावकारी परिचालनलाई प्राथमिकतामा राख्दै प्रचलित कानुन कार्यान्वयनमा कुनै सम्झौता नगर्न पनि निर्देशन दिनुभयो ।

सो अवसरमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट बोल्दै प्रहरी नायव महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीले संगठनको गौरव, अनुशासन र विश्वसनीयता कायम राख्दै अपेक्षित जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *