बारा प्रहरीले चोरीको मोटरसाइकलसहित युवकलाई पक्राउ गर्‍यो

समाचार

बारा, २२ कार्तिक ।

बारा प्रहरीले काठमाण्डौबाट चोरी भएको मोटरसाइकलसहित एक युवकलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार जिल्ला नुवाकोट तारकेश्वर गाउँपालिका–३ बस्ने विनोद श्रेष्ठको नाममा दर्ता रहेको बा.प्र.०२-०४० प ४५६७ नम्बरको २२० सिसी क्षमताको बजाज कम्पनीको पल्सर मोटरसाइकल मिति २०८२ साल जेठ २५ गते दिउँसो करिब ३ बजे काठमाडौंको कीर्तिपुर नगरपालिका–६ मञ्जुश्री पार्कमा पार्किङमा राखिएको अवस्थामा चोरी भएको थियो। पीडित श्रेष्ठले सो घटनाबारे प्रहरी वृत्त कीर्तिपुरमा उजुरी दिएका थिए।

सोही उजुरीका आधारमा प्रहरीद्वारा खोजतलास जारी रहँदा मिति २०८२ साल कार्तिक २१ गते राति करिब ९ बजे जिल्ला बारा बारागढी गाउँपालिका–३ श्रीपुरा टोलमा सवारी चेकजाँचका क्रममा उक्त चोरी गरिएको मोटरसाइकल बरामद गरिएको हो।

सवारी साधनमा फर्जी नम्बर प्लेट (बागमती प्रदेश ०२-०४० प २३१९) जडान गरी मुर्किपलिया गाउँबाट श्रीपुरा गाउँतर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी निरीक्षक खेमप्रसाद नेपालले जानकारी दिए।

पक्राउ परेका व्यक्ति:
– जिल्ला बारा बारागढी गाउँपालिका–३ मुर्किपलिया निवासी २१ वर्षीय सुरेश महतो।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *