सिमराका डिएसपी जोशीको नेतृत्वमा लागू औषधसहित महिला पक्राउ : गाजाँ, विभिन्न ट्याबलेट र नगद बरामद

समाचार

बारा, २६ कार्तिक ।
ईलाका प्रहरी कार्यालय सिमराको टोलीले विशेष सूचनाको आधारमा सञ्चालन गरेको कारबाहीमा ठूलो परिमाणमा लागू औषधसहित एक महिलालाई पक्राउ गरेको छ । सो कारबाही ईलाका प्रहरी कार्यालय सिमराका डिएसपी बेद प्रकाश जोशीको नेतृत्वमा गरिएको प्रहरीले जनाएको छ ।

मधेश प्रदेशको बारा जिल्लास्थित जितपुर सिमरा उपमहानगरपालिका–१८ लामिडाँडामा बसोबास गर्दै आएकी अन्दाजी ४० वर्षीया माईली थिङलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार मिति २०८२ साल कार्तिक २६ गते साँझ करिब ५:३० बजे विशेष सूचनाका आधारमा गरिएको घर तलासीका क्रममा उनको घरबाट विभिन्न प्रकारका लागू औषध र नगद बरामद गरिएको हो ।

कारबाहीमा ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब निरीक्षक (प्र.ना.नि.) दल बहादुर श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीसँगै सशस्त्र प्रहरी बल नं. १२ गण, उत्तर झिटकैया, बाराबाट सशस्त्र प्रहरी नायब निरीक्षक (स.प्र.ना.नि.) तिलक बहादुर गुर्मछानको नेतृत्वमा खटिएको संयुक्त टोलीले सहभागीता जनाएको थियो ।

खानतलासीका क्रममा प्रहरीले निम्न वस्तुहरू बरामद गरेको जनाएको छः
१. गाँजा — ६.५२० केजी (छ किलो पाँच सय बीस ग्राम)
२. Tramadol लेखिएको १८ पत्ता — १८० ट्याबलेट
३. Stasmo लेखिएको १३ पत्ता — ६२० ट्याबलेट
४. Antikof लेखिएको ३ पत्ता — १३५ ट्याबलेट
५. Stagan 25 लेखिएको २२ पत्ता — २२० ट्याबलेट
६. नगद रकम — रू. १९,३९० (उन्नाइस हजार तीन सय नब्बे रुपैयाँ)

बरामद सबै वस्तु र पक्राउ परेकी महिलालाई अधिक अनुसन्धान तथा कानुनी कारबाहीका लागि ईलाका प्रहरी कार्यालय सिमरामा राखिएको प्रहरीले जनाएको छ ।

डिएसपी बेद प्रकाश जोशीका अनुसार लागू औषध व्यापार तथा दुव्र्यसन नियन्त्रणका लागि सिमरा प्रहरीले निरन्तर रूपमा निगरानी र अभियान सञ्चालन गर्दै आएको छ । उनले स्थानीयको सहयोगमा यस्ता अवैध गतिविधि रोकथाममा थप कडाइ गरिने बताएका छन् ।

👉 प्रहरीको भनाइमा, “लागू औषधको कारोवार समाज र युवा पुस्ताको भविष्यका लागि गम्भीर खतरा हो, त्यसकारण यसविरुद्ध हामी शून्य सहनशीलताको नीति अवलम्बन गर्दैछौं,” डिएसपी जोशीले भने।

प्रहरीले यस घटनालाई ठूलो सफलताका रूपमा लिएको छ र यसमा संलग्न अन्य सम्भावित व्यक्तिहरूको खोजतलास पनि भइरहेको जनाएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *