मिडिया काउन्सिलको अपिल : निष्पक्ष, जिम्मेवार र मर्यादित पत्रकारिताका लागि आग्रह

समाचार

जनकपुरधाम, धनुषा – मंसिर ६।
आगामी संसदीय निर्वाचनको तयारीसँगै देशको बदलिदो राजनीतिक परिस्थितिमा जिम्मेवार पत्रकारिताको आवश्यकता बढेको भन्दै मिडिया काउन्सिल जनकपुरधामले समग्र सञ्चारकर्मीलाई निष्पक्ष, सन्तुलित र मर्यादित समाचारप्रति प्रतिबद्ध रहन अपिल गरेको छ।

काउन्सिलका कार्यवाहक अध्यक्ष सुरेश यादवले जारी गरेको प्रेस विज्ञप्तिमा मधेश प्रदेशसहित देशभर भएका परिवर्तनमा आमसञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै हालको राजनीतिक संवेदनशीलताका बेला पत्रकारिता अझै जिम्मेवार बन्नुपर्ने आवश्यकता औँल्याइएको छ।

हाल केही अनलाइन समाचार माध्यम तथा पत्रकारहरूमाथि मौखिक उजुरीहरू बढ्दै गएको र “मिडिया आतंक” जस्ता शब्द प्रयोग हुनु बजारमा देखिएको चुनौती भएको काउन्सिलले जनाएको छ। यस्ता टिप्पणीले पत्रकारिता क्षेत्रकै मर्यादामा प्रश्न उठाउने भन्दै काउन्सिलले सञ्चारकर्मीलाई आफ्नो कार्यप्रणालीप्रति थप सजग, प्रस्ट र उत्तरदायी रहन आग्रह गरेको छ।

काउन्सिलले ‘पत्रकार तथा सञ्चारमाध्यम आचारसंहिता, २०७९’ को पूर्ण पालना गर्न सबै पत्रकार र सञ्चारमाध्यमलाई अनुरोध गर्दै, आचारसंहिता उल्लंघन भएको अनुभूति हुने नागरिकले प्रदेश सञ्चार ऐन, २०७७ को दफा ३३ बमोजिम काउन्सिलमा उजुरी दिन सक्ने जानकारी गराएको छ। उजुरीपरक प्रकरणको छानबिन तथा कानुनी प्रक्रियामा काउन्सिल पूर्ण रूपमा प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।

मिडिया काउन्सिलले संवेदनशील राजनीतिक सन्दर्भमा सञ्चारकर्मीको पेशागत नैतिकता, स्वच्छता र मर्यादित पत्रकारितामार्फत लोकतान्त्रिक प्रक्रिया सुदृढ बनाउन सबैलाई एकजुट भएर योगदान दिन आह्वान गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *