रसीद आलम
मधेस प्रदेश, ५ मंसिर ।
मधेस प्रदेशमा तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपालले सञ्चालन गरेको अभियान पछिल्ला दिनमा निकै प्रभावकारी बन्दा ठूलो परिमाणमा अवैध सामान तथा रकम बरामद भएको छ। सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरीका बाहिनिपति डिआईजी कृष्ण ढकालको नेतृत्वमा सञ्चालन भइरहेको अभियानले सीमावर्ती क्षेत्रका अवैध गतिविधिमाथि कडा प्रहार गर्दै तस्करी नियन्त्रणमा उल्लेखनीय सफलता हात पारेको हो।
पर्सामा ५४ लाखभन्दा बढी मूल्यका सामान बरामद
मिति २०८२।०८।०५ गते विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल प्र.सि.सु.गुल्म वीरगञ्जका स.प्र.ना.उ. पुरुषोत्तम भण्डारीको कमाण्डमा खटिएको टोली तथा वीरगञ्ज भन्सार कार्यालयका ना.सु. हफिजुल्ला अन्सारीसहितको संयुक्त टोलीले पर्सा, बिरगञ्ज–१० आदर्शनगरस्थित वडा कार्यालय दक्षिणपट्टि रहेको पुरानो घरबाट ठूलो परिमाणमा भन्सार छली भण्डारण गरिएको सामान बरामद गरेको हो।
बरामद गरिएको किराना सामान तथा विभिन्न प्रकारका औषधिको अन्दाजी मूल्य रु. ५४,२८,६०० बराबर रहेको थियो। बरामद सामग्री आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
१३ गण पर्साबाट थप सामान बरामद
यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साबाट खटिएको टोलीले सीमावर्ती क्षेत्रका विभिन्न स्थानमा गरी रु. ३,३९,१७५ बराबरका किराना सामान, कपडा तथा हार्डवेयर सामग्री बरामद गरेको छ। ती सबै सामग्री पनि वीरगञ्ज भन्सारमा बुझाइएको छ।
बारामा शंकास्पद अवैध रकम बरामद : १९ लाख ९५ हजार
सशस्त्र प्रहरी बल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालयको सूचनाका आधारमा सप्रबल नेपाल नं. १२ गण हे.क्वा. बाराले
- मंसिर ०३ गते—विश्रामपुर गापा–४ बाट रु. १०,८०,०००,
- मंसिर ०५ गते—त्यही स्थानबाट रु. ६,१५,०००,
अवैध कारोबारको आशंकामा बरामद गरी भन्सार स्टोरमा बुझाएको छ।
त्यस्तै, मंसिर ०३ गते प्र.सि.सु.गुल्म वीरगञ्जले बीरगञ्ज महानगरपालिका–१६, भन्सार मेनगेटबाट रु. ३,००,००० अवैध शंकास्पद रकम बरामद गरेको थियो।
मंसिर ०३ र ०५ गते गरी मात्र कुल रु. १९,९५,000 अवैध रकम नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
खुला सीमाबाट हुने तस्करी नियन्त्रणमा सशस्त्र प्रहरी सक्रिय
सशस्त्र प्रहरी बल पर्साले पछिल्ला महिनामा टोली परिचालनलाई झनै प्रभावकारी बनाउँदै अवैध चोरी–तस्करी नियन्त्रणमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ। विशेष गरी खुला सीमा क्षेत्रको दुरुपयोग गर्दै हुने
- अवैध सामान ओसारपसार,
- अवैध रकम कारोबार,
- लागुऔषध तस्करी,
- अवैध हातहतियार ओसारपसार
जस्ता गतिविधिलाई नियन्त्रण गर्न बाहिनीका विभिन्न इकाइहरुले निरन्तर अभियान सञ्चालन गरिरहेका छन्।
सीमा अपराध नियन्त्रणमा कडाइ : गणपति भट्ट
स.प्र.बल नेपाल नं. १३ गण हे.क्वा.का गणपति एसपी पुरन चन्द्र भट्टले सीमावर्ती क्षेत्र प्रयोग गरी हुने अवैध निकासी–पैठारीलाई पूर्णरूपमा निरुत्साहित गर्न कुनै कसर बाँकी नराखिने स्पष्ट गरेका छन्।
उहाँका अनुसार सीमावर्ती समुदायमा राजस्व अभिवृद्धिको महत्व, अवैध तस्करीका असर तथा सशस्त्र प्रहरी र स्थानीय समुदायबीचको सहकार्यबारे जनचेतनामूलक कार्यक्रमहरुलाई अभियानकै रूपमा सञ्चालन गरिनेछ।
सशस्त्र प्रहरीको निरन्तर अभियान प्रभावकारी
सूचना अधिकारी स.प्र.ना.उ. विश्वराज योन्जनका अनुसार सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साले मधेस प्रदेशका सीमावर्ती क्षेत्रमा अवैध तस्करी नियन्त्रण, राजस्व सुरक्षा र सीमा सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।
अभियान निरन्तर जारी रहने र यसले तस्करी समूहमा ठूलो धक्का पुर्याइरहेको प्रहरीले जनाएको छ।


