रसीद आलम ।
बीरगञ्ज, १ पुस । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल गर्दै गएको छ। अपराध नियन्त्रण, युवालाई लागुऔषधको दुष्प्रभावबाट जोगाउने तथा समाजमा शान्ति–सुरक्षा कायम गर्ने उद्देश्यका साथ अगाडि बढाइएको उक्त अभियानलाई प्रहरीले अझ प्रभावकारी र कडाइका साथ अघि बढाइरहेको छ।
यसै अभियानअन्तर्गत विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साका विशेष प्रहरी टोलि तथा मातहतका प्रहरी चौकी सिर्सियाबाट खटिएको प्रहरी टोलीले सन्युक्त रूपमा मिति २०८२।०८।२९ गते राति करिब ८ बजे पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नं. १७ कोनियास्थित सामुदायिक अस्पताल अलौबाट कोनिया जाने ग्राभेल सडकखण्डमा चेकजाँचका क्रममा एक पिकअप गाडी नियन्त्रणमा लिएको हो।
प्रहरीले बा.२१ च ७८५५ नम्बरको पिकअप गाडी रोकी सूक्ष्म चेकजाँच गर्दा गाडीको पछाडिपट्टि प्लाष्टिकको बोराभित्र परालले छोपी लुकाइछिपाइ राखिएको अवस्थामा लागुऔषध गाँजा जस्तो देखिने पदार्थ १२ पोकामा कुल १७६ केजी फेला परेको थियो। बरामद गाँजासहित गाडीका चालकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ पर्ने व्यक्ति जिल्ला रामेछाप खाडादेवी गाउँपालिका वडा नं. १ निवासी वर्ष २८ का सुबराज श्रेष्ठ रहेका छन्। बरामद गरिएको लागुऔषध गाँजा जस्तो देखिने पदार्थ, पिकअप गाडी र चालकलाई नियन्त्रणमा लिई लागू औषध सम्बन्धी कसुरमा थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
पर्सा प्रहरीका निमित्त प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक अमृत बहादुर बस्नेतका अनुसार जिल्लामा लागुऔषधको ओसारपसार, कारोबार तथा प्रयोगलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याउने उद्देश्यले प्रहरी सक्रिय रूपमा परिचालित छ। आगामी दिनमा समेत यस्ता अवैध गतिविधिविरुद्ध कडा निगरानी र कारबाही जारी रहने उहाँले स्पष्ट गर्नुभयो।
पर्सा प्रहरीको यस निरन्तर प्रयासले सीमावर्ती क्षेत्रमार्फत हुने लागुऔषध ओसारपसार नियन्त्रणमा सहयोग पुग्नुका साथै समाजमा कानुनको शासन र जनविश्वास मजबुत हुँदै गएको स्थानीयले बताएका छन्।
पक्राउ विवरण:
१) जिल्ला रामेछाप खाडादेवी गाउँपालिका वडा नं. १ बस्ने वर्ष २८ का सुबराज श्रेष्ठ
बरामद विवरण:
– लागुऔषध गाँजा जस्तो देखिने पदार्थ: १७६ केजी
– बा.२१ च ७८५५ नम्बरको पिकअप गाडी
