कपिलवस्तु, १ पुस । जिल्ला प्रहरी कार्यालय तौलिहवा, कपिलवस्तुले मुद्दा मिलाइदिने प्रलोभन देखाई १० हजार रुपैयाँ ठगी गरेको अभियोगमा दुई जनालाई नियन्त्रणमा लिएको छ।
मिति २०८२।०८।१२ गते राति कपिलवस्तु नगरपालिका वडा नं. ३ विशम्भरपुरमा झैँझगडा भई कुटपिट तथा ज्यान मार्ने उद्योगसम्बन्धी घटना भएको भन्दै लक्ष्मण केवटको जाहेरीका आधारमा वादी नेपाल सरकार र प्रतिवादी कपिलवस्तु नगरपालिका वडा नं. ३ विशम्भरपुर बस्ने प्रलाहद केवटसहित तीन जनाविरुद्ध “ज्यान मार्ने उद्योग” शीर्षकमा मुद्दा दर्ता भई अनुसन्धान भइरहेको थियो।
उक्त घटनाको अनुसन्धानकै क्रममा कपिलवस्तु जिल्ला बुद्धभूमि नगरपालिका वडा नं. १० बिजगौली बस्ने वर्ष ५० का अयोध्यालाल श्रीवास्तव र सोही स्थानका वर्ष २२ का भगत भन्ने मोहन रैदासले आफूहरूको प्रहरी, प्रशासन तथा ठूला व्यक्तिसँग राम्रो चिनजान रहेको दाबी गर्दै मुद्दा दर्ता हुन नदिने र मिलाइदिने प्रलोभन देखाएका थिए। उनीहरूले मिति २०८२।०८।१३ गते दिउँसो अन्दाजी १३:०० बजे कपिलवस्तु नगरपालिका वडा नं. २ स्थित सरिमा अस्पताल अगाडि रहेको पान पसल नजिकबाट प्रहरी हिरासतमा रहेका प्रलाहद केवटकी श्रीमती मिना केवटसँग रु. १०,००० (अक्षेरूपी दश हजार रुपैयाँ) लिई ठगी गरेको आरोप छ।
यस सम्बन्धमा पीडित मिना केवटले मिति २०८२।०८।२७ गते जिल्ला प्रहरी कार्यालय तौलिहवामा उजुरी दर्ता गराएपछि प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका उनीहरूविरुद्ध मिति २०८२।०८।२८ गते ठगी, आपराधिक तथा आपराधिक लाभ (एक्सटर्सन) कसुर शीर्षकमा सम्मानित कपिलवस्तु जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले मुद्दा मिलाइदिने बहानामा सर्वसाधारणलाई प्रलोभनमा पारेर आर्थिक लेनदेन गर्ने यस्ता गैरकानुनी कार्य नगर्न तथा नगराउन सबैमा आग्रह गरेको छ। यस्ता कार्य गरेको वा गराएको पाइएमा प्रचलित कानूनबमोजिम कडा कारबाही गरिने समेत प्रहरीले चेतावनी दिएको छ।
यस सम्बन्धी जानकारी जिल्ला प्रहरी कार्यालय तौलिहवाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रिपेन्द्र कुमार सिंहले दिएका हुन्।
