“नभनी दिन–रात, नागरिकको सुख–दुःखमा नेपाल प्रहरीको साथ”

समाचार

(ग्रामिण गस्तीमार्फत सुरक्षा, भरोसा र सेवा विस्तारमा सक्रिय नेपाल प्रहरी)

काठमाडौ ,१ पुस 

नागरिकको जीवन, सम्पत्ति र सम्मानको सुरक्षा सुनिश्चित गर्ने संवैधानिक दायित्वका साथ नेपाल प्रहरी दिन–रात नभनी जनताको सुख–दुःखमा साथ दिँदै आएको छ। “नभनी दिन–रात, नागरिकको सुख–दुःखमा नेपाल प्रहरीको साथ” भन्ने मूल नारालाई व्यवहारमा उतार्दै नेपाल प्रहरीले ग्रामीण भेगहरूमा नियमित तथा प्रभावकारी ग्रामिण गस्तीलाई तीव्रता दिएको छ।

जिल्ला प्रहरी कार्यालय दिङलाले दुर्गम तथा ग्रामीण क्षेत्रहरूमा शान्ति–सुरक्षा कायम राख्ने, अपराध नियन्त्रण गर्ने, आपराधिक गतिविधि न्यूनीकरण गर्ने तथा स्थानीय नागरिकमा सुरक्षा अनुभूति दिलाउने उद्देश्यले सञ्चालन गरिएको ग्रामिण गस्ती कार्यक्रमले सकारात्मक प्रभाव देखाउन थालेको छ। प्रहरी टोलीले राति तथा बिहानका समयमा गाउँ–टोल, बस्ती, खेत–खलिहान, मुख्य तथा सहायक सडक, विद्यालय, स्वास्थ्य संस्था र सार्वजनिक स्थलहरूमा नियमित गस्ती गर्दै नागरिकसँग प्रत्यक्ष संवाद गरिरहेको छ।

ग्रामिण गस्तीका क्रममा प्रहरी टोलीले चोरी, तस्करी, लागुऔषध कारोबार, घरेलु हिंसा, जुवातास, अवैध मदिरा उत्पादन तथा अन्य आपराधिक क्रियाकलापप्रति निगरानी बढाउनुका साथै सर्वसाधारणलाई कानुनी सचेतना पनि प्रदान गरिरहेको छ। यसका साथै विपद्, आकस्मिक घटना, बिरामी, सुत्केरी, वृद्धवृद्धा तथा असहाय व्यक्तिहरूलाई आवश्यक सहयोग गर्दै मानविय सेवामा समेत नेपाल प्रहरी अग्रपंक्तिमा देखिएको छ।

स्थानीय बासिन्दाहरूले ग्रामिण गस्तीले गाउँमा शान्ति, सुरक्षा र विश्वासको वातावरण सिर्जना भएको प्रतिक्रिया दिएका छन्। प्रहरीको नियमित उपस्थितिले आपराधिक गतिविधि नियन्त्रणमा सहयोग पुगेको, डर–त्रास घटेको र आपत्‌विपत्‌मा तत्काल सहयोग पाउन सहज भएको उनीहरूको भनाइ छ। नागरिक–प्रहरी सम्बन्ध सुदृढ हुँदै गएको र समुदायमै आधारित सुरक्षा प्रणाली प्रभावकारी बन्दै गएको समेत स्थानीयको अनुभव छ।

नेपाल प्रहरीका सम्बन्धित अधिकारीहरूका अनुसार ग्रामिण गस्तीलाई अझ व्यवस्थित, नियमित र परिणाममुखी बनाइनेछ। समुदायसँग सहकार्य, सूचनाको आदान–प्रदान र जनसहभागितामार्फत शान्ति सुरक्षालाई थप बलियो बनाउँदै नागरिकको भरोसाको प्रहरी बन्ने लक्ष्यसहित यस्तो अभियान निरन्तर जारी रहने उनीहरूले बताएका छन्।

नागरिकको सुरक्षामै आफ्नो सेवा र कर्तव्य समर्पित गर्दै “सेवामा सदैव तत्पर” नेपाल प्रहरी ग्रामिण गस्तीमार्फत जनताको घर–आँगनमै पुगेर सुरक्षा, सहयोग र भरोसाको अनुभूति दिलाउन सफल हुँदै गएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *