बारा सशस्त्र प्रहरीको सक्रियतामा रु. ४ लाख ५५ हजार बराबरको अवैध सामान बरामद

समाचार

बारा, ३ पुस।
सशस्त्र प्रहरी बल, नेपाल बाराका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) खुमबहादुर केसीको सक्रिय कमाण्ड तथा निर्देशनमा सीमा क्षेत्रमा गरिएको कडाइका कारण अवैध ओसार–पसार नियन्त्रणमा उल्लेखनीय सफलता प्राप्त भएको छ। पछिल्लो दुई दिनको अवधिमा बाराका विभिन्न सीमा नाकाबाट भन्सार छलि भित्र्याइँदै तथा बाहिर लैजान खोजिएका करिब रु. ४ लाख ५५ हजार बराबरका अवैध सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीका अनुसार, मिति २०८२।०९।०२ गते बिहान ११:२५ बजे बिश्रामपुर गाउँपालिका–०१ छतवा सीमा क्षेत्रमा सीमा सुरक्षा गुल्म मटिअर्वाबाट सशस्त्र प्रहरी सहायक हवल्दार जितेन्द्र गिरीको कमाण्डमा खटिएको टोलीले भारतबाट अवैध रूपमा भन्सार छलि नेपालतर्फ ल्याइँदै गरेको अन्दाजी रु. ७१,००० बराबरको किराना सामान बरामद गरेको हो। सो सामान तीन जना व्यक्तिले टाउकोमा बोकी ल्याइरहेका थिए।

त्यसै दिन ११:५५ बजे कलैया उपमहानगरपालिका–१० निलकण्ठवा सीमा क्षेत्रमा सीमा सुरक्षा गुल्म मटिअर्वाबाट सशस्त्र प्रहरी सहायक निरीक्षक सुदीप अर्यालको कमाण्डमा खटिएको टोलीले मोटरसाइकल प्रयोग गरी भारतबाट भन्सार छलि ल्याइँदै गरेको अन्दाजी रु. ६०,००० बराबरको हार्डवेयर सामान तथा मोटरसाइकलसहित जम्मा रु. १,६०,००० बराबरको सामान नियन्त्रणमा लिएको थियो।

यसैगरी, मिति २०८२।०९।०२ गते बिहान करिब ०६:४५ बजे सुवर्ण गाउँपालिका–३ सन्तगंज सीमा क्षेत्रमा बी.ओ.पी. कवहीगोठबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक विश्वराज कार्कीको टोलीले भारतबाट एक जना व्यक्तिले टाउकोमा बोकी नेपालतर्फ ल्याइँदै गरेको अन्दाजी रु. १,२०,००० बराबरका मोटर पार्टस बरामद गरेको छ।

त्यसै दिन १२:०५ बजे कलैया उपमहानगरपालिका–१० मटिअर्वा सीमा क्षेत्रमा सीमा सुरक्षा गुल्म मटिअर्वाबाट सशस्त्र प्रहरी नायब निरीक्षक रामशरण सिलवालको कमाण्डमा खटिएको टोलीले तीन जना व्यक्तिले टाउकोमा बोकी ल्याइँदै गरेको अन्दाजी रु. ४५,००० बराबरका कस्मेटिक सामान तथा कपडा बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ।

यस्तै, मिति २०८२।०९।०३ गते राति करिब २२:३० बजे बिश्रामपुर गाउँपालिका–०४ बलिरामपुर सीमा क्षेत्रमा एफ.ओ.बी. बलिरामपुरबाट सशस्त्र प्रहरी नायब निरीक्षक सूर्यप्रसाद रेग्मीको नेतृत्वमा खटिएको टोलीले नेपालबाट भारततर्फ साइकल प्रयोग गरी लैजान खोजिएको अन्दाजी रु. २४,००० बराबरको रेडिमेड नेपाली जित सुर्ती तथा भारतबाट नेपालतर्फ ल्याइँदै गरेको अन्दाजी रु. ३५,००० बराबरको लेडिज कुर्ता–सुरुवाल समेत बरामद गरेको हो।

बरामद गरिएका सबै सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित भन्सार कार्यालयमा बुझाइसकिएको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ।
एसपी खुमबहादुर केसीको नेतृत्वमा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउँदै अवैध तस्करी, चोरी–पैठारी र सीमा अपराध नियन्त्रणका लागि सशस्त्र प्रहरीको गस्ती तथा निगरानी अझ कडा बनाइएको जनाइएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *