सप्तरी, १६ पुस।
नेपाल एपीएफ ठाकोदेवी जोगेन्द्र भगत स्कुल, शम्भुनाथ–सप्तरीको पाँचौँ स्थापना दिवस तथा अभिभावक समारोह मिति २०८२ साल पौष १६ गते भव्यताका साथ सम्पन्न भएको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता वाहिनी मुख्यालय, महोत्तरीका वाहिनीपति एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सशस्त्र प्रहरी नायव महानिरीक्षक कृष्ण ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयले विविध सांस्कृतिक कार्यक्रम, शैक्षिक तथा सिर्जनात्मक क्रियाकलापहरू प्रस्तुत गर्दै उत्सवमय वातावरण सिर्जना गरेको थियो।
कार्यक्रममा स्थानीय तहका प्रमुख प्रतिनिधिहरू, दन्तकाली विशेष कार्य तालिम शिक्षालयका समादेशक (स.प्र.ब.उ.), शम्भुनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, जिल्ला सुरक्षा समिति सप्तरीका सदस्यहरू, विद्यालयका जग्गादाताहरू, सशस्त्र प्रहरी बलका नं. ६ र ७ गणका गणपतिहरू, पत्रकारहरू, स्थानीय भद्रभलाद्मी, स्थानीय क्याम्पस प्रमुख, विभिन्न विद्यालयका प्रधानाध्यापकहरू, अभिभावकहरू, शिक्षक–शिक्षिकाहरू, सशस्त्र प्रहरी कर्मचारीहरू तथा विद्यालयमा अध्ययनरत विद्यार्थी भाइबहिनीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रमुख अतिथि सशस्त्र प्रहरी नायव महानिरीक्षक कृष्ण ढकालले विद्यालयले छोटो समयमा हासिल गरेको शैक्षिक प्रगति र अनुशासनको प्रशंसा गर्दै गुणस्तरीय शिक्षा, नैतिक मूल्य र राष्ट्रिय चेतनाको विकासमा विद्यालयको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। उहाँले आगामी दिनमा विद्यालयलाई अझ सुदृढ र उत्कृष्ट बनाउन सबै सरोकारवालाको सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो।
कार्यक्रमले विद्यालय–अभिभावक सम्बन्ध सुदृढ गर्नुका साथै विद्यार्थीहरूको प्रतिभा झल्काउनेमा महत्वपूर्ण योगदान पुर्याएको सहभागीहरूको धारणा रहेको थियो।
