जनमत पार्टी पर्साद्वारा ‘आपन बुथ सब से मजबुत’ अभियान तीव्र, ३४ वटै बुथका इन्चार्जहरूको अभिमुखीकरण सम्पन्न

राजनीति समाचार

वीरगन्ज ,१२ माघ। यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै जनमत पार्टी पर्साले संगठन सुदृढीकरण अभियानलाई तीव्र बनाएको छ।

पार्टीले सञ्चालन गरिरहेको “आपन बुथ सब से मजबुत” अभियानअन्तर्गत पर्सा क्षेत्र नम्बर–१ का ३४ वटै बुथका बुथ इन्चार्ज, महिला इन्चार्ज तथा युवा इन्चार्जहरूको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो।

जनमत पार्टी पर्साको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा बुथस्तरको संगठनलाई अझ मजबुत बनाउँदै मतदाता केन्द्रित अभियान प्रभावकारी रूपमा अघि बढाउने रणनीतिबारे छलफल गरिएको पार्टीले जनाएको छ।

कार्यक्रमकै अवसरमा पर्सा क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार ओमप्रकाश सर्राफले औपचारिक रूपमा आफ्नो चुनावी अभियानको सुरुआत गरेका छन्।

उम्मेदवार सर्राफले बुथस्तर नै निर्वाचन जितको मुख्य आधार भएको उल्लेख गर्दै पार्टी संगठनलाई एकताबद्ध, सक्रिय र अनुशासित बनाएर चुनावी मैदानमा उत्रिन कार्यकर्तालाई आग्रह गरेका थिए।

जनमत पार्टीले आगामी दिनमा घरदैलो अभियान, जनसम्पर्क कार्यक्रम तथा विभिन्न चुनावी गतिविधिलाई निरन्तरता दिने तयारी गरेको जनाएको छ। पार्टीका अनुसार फागुन २१ को निर्वाचनलाई निर्णायक रूपमा लिँदै संगठनात्मक तयारीलाई उच्च प्राथमिकतामा राखिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *