बिरगंज भन्सार गुल्मको नेतृत्वमा डिएसपी अधिकारी, तस्करी नियन्त्रणदेखि सीमापार अपराध न्यूनीकरणसम्म ठूला चुनौती

समाचार

रसीद आलम ।
बिरगंज, १५ माघ । सशस्त्र प्रहरी बल नेपाल, पर्सा अन्तर्गत सीमा सुरक्षा गुल्म हेडक्वार्टर, बिरगंज भन्सारको गुल्मपतिको जिम्मेवारी सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) विकास अधिकारीले सम्हालेका छन्। उनको आगमनसँगै तस्करी नियन्त्रण, सीमा सुरक्षा व्यवस्थापन तथा सीमावारपार हुने अपराध न्यूनीकरणजस्ता चुनौतीहरू थपिएका छन्।

बिरगंज भन्सार मधेस प्रदेश मात्र होइन, मुलुककै मुख्य प्रवेशद्वारका रूपमा परिचित भएकाले यो नाका अत्यन्तै संवेदनशील मानिन्छ। भारतसँग जोडिएको खुला सीमाका कारण तस्करी, अवैध ओसारपसार, लागूऔषध कारोबार, मानव तस्करी तथा अन्य सीमापार अपराध नियन्त्रण गर्नु सुरक्षा निकायका लागि सधैं चुनौतीपूर्ण रहँदै आएको छ।

त्यसमाथि आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै शान्ति सुरक्षा कायम राख्नु पनि नयाँ गुल्मपतिका लागि महत्वपूर्ण जिम्मेवारी बनेको छ।

यसअघि बिरगंज भन्सार सीमा सुरक्षा गुल्मका गुल्मपति रहेका डिएसपी पुरुषोत्तम भण्डारीलाई सशस्त्र प्रहरी बल नेपाल विपद् उद्धार २० नम्बर गणमा सरुवा गरिएको हो। डिएसपी भण्डारीले आफ्नो करिब छ महिनाको कार्यकालमा उल्लेखनीय कार्य सम्पादन गर्दै साढे ८ करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको अवैध मालसामान नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाएका थिए।

सशस्त्र प्रहरीको तथ्यांकअनुसार सीमा सुरक्षा व्यवस्थापन, तस्करी नियन्त्रण तथा सीमापार अपराध रोकथाममा उनले खेलेको भूमिकाको स्थानीय बासिन्दा, व्यवसायी तथा सरोकारवालाहरूले खुलेर प्रशंसा गरेका छन्।

डिएसपी भण्डारीको स्थानमा संगठनले डिएसपी विकास अधिकारीलाई नयाँ गुल्मपतिको रूपमा बिरगंज भन्सार पठाएको हो। स्थानीय बासिन्दा तथा व्यवसायीहरूका अनुसार अवैध तस्करी नियन्त्रण, सीमा क्षेत्रमा हुने अपराध न्यूनीकरण, मानव ओसारपसार रोकथाम, लागूऔषध नियन्त्रण तथा भन्सार चुहावट रोक्न आगामी दिनहरूमा डिएसपी अधिकारीका लागि ठूला चुनौतीहरू रहनेछन्।

यसअघि पनि बिरगंज भन्सार गुल्ममा गुल्मपतिको जिम्मेवारी सम्हालेका डिएसपी सुरज रिजाल र डिएसपी लोकेन्द्र सुब्बाले आफ्नो कार्यकालमा उत्कृष्ट कार्य गर्दै ऐतिहासिक सफलता हासिल गरेका थिए। उनीहरूले स्थानीय स्तरदेखि सशस्त्र प्रहरी संगठनसम्मबाट प्रशंसापत्र प्राप्त गर्दै उल्लेखनीय छाप छोडेको जानकारहरू बताउँछन्।

सीमा सुरक्षाको दृष्टिले अत्यन्तै संवेदनशील मानिने बिरगंज नाकामा नयाँ नेतृत्वसँगै सुरक्षा व्यवस्थापन अझ सुदृढ हुने अपेक्षा गरिएको छ। तस्करी तथा सीमापार अपराध नियन्त्रणमा प्रभावकारी रणनीति अपनाउँदै शान्ति सुरक्षा कायम गर्न डिएसपी विकास अधिकारीको भूमिका निर्णायक हुने स्थानीयहरूको विश्वास रहेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *