वीरगञ्ज, १५ माघ ।प्रेस सेन्टर नेपालको २२औँ स्थापना दिवसको अवसरमा वीरगञ्जमा प्रभात र्याली तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
प्रेस सेन्टर नेपाल पर्साका अध्यक्ष शिवनाथ यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा संयोजक के.सी. लामिछानेले पत्रकारितामा पेशागत मर्यादा, विश्वसनीयता र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिए।
पत्रकारिता लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै उनले तथ्यमा आधारित, सन्तुलित र विश्वसनीय समाचार सम्प्रेषण गर्न पत्रकारहरूलाई आग्रह गरे। विशेषगरी निर्वाचनजस्ता संवेदनशील विषयमा रिपोर्टिङ गर्दा कुनै पूर्वाग्रह नराखी सत्य र तथ्यमा आधारित पत्रकारिता गर्नुपर्ने सुझाव उनले दिए।
संयोजक लामिछानेले पत्रकारिताको मूल धर्म सत्यको खोज र जनताको विश्वास कायम गर्नु भएको उल्लेख गर्दै गलत सूचना र अफवाह फैलिन नदिन पत्रकारहरू अझ जिम्मेवार बन्नुपर्ने बताए।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्यामप्रसाद बन्जाराले प्रेस स्वतन्त्रता र पत्रकारहरूको पेशागत सुरक्षा अझै चुनौतीपूर्ण अवस्थामा रहेको भन्दै सबै पत्रकार एकजुट हुनुपर्ने धारणा व्यक्त गरे।
त्यस्तै नेपाल पत्रकार महासंघ पर्साका जिल्ला अध्यक्ष ओमप्रकाश खनालले निर्वाचनको समयमा पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिताको पालना अनिवार्य रहेको बताए।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सचिव दिपक गौतम, समाजवादी प्रेस संगठनका मधेश प्रदेश अध्यक्ष मनोज पटेल, जिल्ला अध्यक्ष शम्भु कुमार सुमन, समाजवादी प्रेस संगठनका नेता राघव साह, प्रेस सेन्टरका केन्द्रीय सदस्य सन्तोष पौडेललगायत पर्साका पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा अजित भुजेल, रन्जित पाण्डे, संजोग गिरि, सन्तोष कुश्वाहा, दिपेन्द्र प्रसादलगायतले रक्तदान गरेका थिए। रक्तदान कार्यक्रमले पत्रकारहरूको सामाजिक उत्तरदायित्व र मानवीय सेवाप्रतिको प्रतिबद्धता झल्काएको सहभागीहरूले बताएका छन्।
प्रेस सेन्टर नेपालले स्थापना दिवसलाई प्रत्येक वर्ष पत्रकारिता सुदृढीकरण, पेशागत क्षमता अभिवृद्धि तथा सामाजिक सेवासँग जोडेर मनाउँदै आएको आयोजकले जानकारी दिएका छन्। कार्यक्रमको सञ्चालन प्रेस सेन्टर पर्साका सचिव अजित भुजेलले गरेका थिए।
