काठमाडौँ ,२१ माघ। प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सेवा दलको दीक्षान्त कवाज समारोहमा सहभागी भई अनुशासन, राष्ट्रप्रेम र बहुआयामिक प्रतिभाले सुसज्जित युवाशक्तिको उत्साह देख्दा आफूभित्र सकारात्मक ऊर्जा भरिएको अनुभूति भएको बताएकी छन्।
प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै दीक्षान्त समारोहमा सहभागी छात्रछात्राहरूको अनुशासन, नैतिकता र सेवाभावप्रतिको प्रतिबद्धता प्रशंसनीय रहेको उल्लेख गरेकी छन्। उनले अनुशासन र सेवाभावलाई जीवनशैलीका रूपमा आत्मसात् गर्दै देश र समाजका लागि अग्रपंक्तिमा उभिन तयार युवापुस्ताले राष्ट्रको भविष्य उज्यालो बनाउने विश्वास व्यक्त गरिन्।
उनले राष्ट्र निर्माणमा युवाशक्तिको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै राष्ट्रिय सेवा दलले युवामा राष्ट्रप्रेम, जिम्मेवारीबोध र नेतृत्व क्षमता विकास गर्न खेलेको भूमिकालाई सराहना गरिन्। साथै, दीक्षित छात्रछात्राहरूलाई देश र समाजको सेवामा समर्पित भई अघि बढ्न आग्रह गर्दै उनीहरूको उज्ज्वल भविष्यको कामना पनि गरिन्।
प्रधानमन्त्रीको उक्त सन्देशले युवापुस्तालाई थप प्रेरणा दिएको सहभागीहरूले बताएका छन्।
